काठमाडौं - जल तथा मौसम विज्ञान विभागले दैनिक रुपमा मौसम सम्बन्धी विभिन्न जानकारीहरु दिने गर्छ। विभागले जारी गर्ने मौसम चेतावनीमा रातो, पहेलो, हरियो र सुन्तला रङको प्रयोग गरिएका हुन्छन्।
नक्सामा प्रयोग गरिने यी रङहरुको आफ्नै संकेत र अर्थहरु छन् :
हरियो रङ (चेतावनी छैन)
हरियो रङले सामान्य अवस्था बुझाउँछ। जनजीवनमा उल्लेख्य प्रभाव पार्दैन। र, दैनिक कामकाज यथावत गर्न सकिन्छ भन्ने संकेत हरियो रङले गर्छ।
पहेलो रङ (अद्यावधिक रहने)
पहेलो रङले सजग रहने अर्थ बुझाउँछ। मौसमले सामान्य प्रभाव पार्न सक्ने भएकाले सहज रहनुपर्ने र पछिल्ला मौसम सम्बन्धी सूचनामा ध्यान दिनुपर्ने पहेलो रङले जनाउँछ।
सुन्तला रङ (सतर्क रहने)
यो रङले तयार रहने अवस्थालाई बुझाउँछ। मौसम प्रतिकुल हुन सक्ने भएकाले यात्रा, बाहिरी गतिविधि र संवेदनशील काममा विशेष सावधानी अपनाउनुपर्ने संकेत यो रङले दिन्छ। साथै, विपद सम्बन्धी संस्था र जनसमुदाय पनि तयारी अवस्थामा बस्नुपर्ने बुझाउँछ।
रातो रङ (प्रतिकार्य गर्ने)
रातो रङले अत्यन्त सतर्क रहनुपर्ने अवस्थालाई संकेत गर्छ। मौसमबाट उच्च जोखिमको संभावना छ भनेर पनि जनाउँछ। अत्यावश्यक बाहेकका यात्रा तथा गतिविधि नगर्न र सम्बन्धी निकायको सुरक्षा निर्देशन कडाईका साथ पालना गर्न पनि रातो रङले संकेत गर्छ। यस्तो अवस्थामा विपदसँग सरोकार राख्ने सबै संघ, संस्था तत्काल पूर्व तयारी र विपद प्रतिकार्यमा जुट्नुपर्ने हुन्छ।