काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न कार्यकारिणी समिति निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ। संघको निर्वाचन प्रक्रियामा गैरकानुनी रूपमा सहभागी हुनबाट वञ्चित गरिएको भन्दै परेको उजुरीमाथि निर्णय गर्दै प्रशासनले डा. शाहीको उम्मेदवारी वैध ठहर गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२/०९/०८ गते जारी गरेको पत्रमा नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार उम्मेदवारी दर्ता गरेका चिकित्सकलाई निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको छ।
माघ २ र ३ गते शाखा कार्यालय तथा माघ १५, १६ र १७ गते केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा आफूलाई गैरकानुनी रूपमा निर्वाचनमा सहभागी हुनबाट रोकिएको भन्दै उजुरी परेको थियाे।
प्रशासनले निर्वाचन नियमावलीको परिच्छेद ४, नियम १ को व्याख्या गर्दै उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयसीमाभित्र मनोनयन पत्र दर्ता गर्न सक्ने व्यवस्था स्पष्ट रहेको उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन नियमावली विपरीत मनोमानी शर्तहरू राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नु कानुन विपरीत भएको ठहर गरेको छ। त्यसैले नियमावलीअनुसार तोकिएको समयसीमाभित्र वारेसनामा वा मन्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकलाई निर्वाचनमा सहभागी गराउन/गराउन आदेश गरिएकाे छ।

प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित उक्त पत्रपछि डा. अरुण शाहीको उम्मेदवारी यथावत् राख्नुपर्ने देखिएकाे छ।
