दाङ- स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि मंसिर २५ गते जारी गरेको सूचना हाललाई कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिएको हो।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि आज पुस ८ गते दुबै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरिएको हो।
यसअघि उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशको निरन्तरतासँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया हाललाई स्थगित भएको छ।
