काठमाडौं - नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी कायम भएको छ । मंगलबार कलेजमा आयोजित विशेष कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी र कोबे तोकिवा विश्वविद्यालयका कुलपति तादाशी नाकामुराले हस्ताक्षर गर्नुभयो । समझदारी अनुसार दुवै संस्थामा कार्यरत फ्याकल्टी तथा पिजी, पिएचडी, डिएम र एमसीएच अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक इन्टरचेञ्ज रणनीति अन्तर्गत अध्ययन तथा अनुसन्धान गर्न सक्नेछन्।
यस सहकार्यले नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र फ्याकल्टी दुवैलाई लाभ पुग्ने विश्वास अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले व्यक्त गरे। निजी क्षेत्रबाट सञ्चालित भए पनि कलेजले सरकारले लागू गरेका स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै गरिब तथा विपन्न नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए। उनले नेपालको मेडिकल शिक्षा र चिकित्सकीय अनुसन्धानमा कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कोबे तोकिवा विश्वविद्यालयसँगको सहकार्यले दुई देशका विद्यार्थीको शैक्षिक उन्नयन र प्राज्ञिक ज्ञान विस्तारमा टेवा पुग्ने बताए।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई थप मजबुत बनाउने बताउनुभयो । कलेजले चिकित्सकीय अध्ययन र अनुसन्धानलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्दै जाने जानकारी दिए।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै यस सहकार्यले स्वास्थ्य अनुसन्धान क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, अनुसन्धान निर्देशक प्रा.डा. शिबकुमार राईले समझदारीपत्रको उद्देश्य र महत्वबारे जानकारी गराउँदै यसले विद्यार्थीको सिकाइ र अनुसन्धान क्षमतामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
कोबे तोकिवा विश्वविद्यालयका ग्लोबल कम्युनिकेशन सेन्टर प्रमुख प्रा.डा. ताकाशी सुजुकीले सहकार्यबाट दुवै देशका अनुसन्धानकर्ता तथा विद्यार्थी लाभान्वित हुने बताए । विश्वविद्यालयका कुलपति नाकामुराले नेपालसँगको सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाए।
समझदारी अनुसार दुवै संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नीति तथा मापदण्डअनुसार अस्पताल तथा क्षेत्रीय तहमा संयुक्त अनुसन्धान गर्नेछन् । सन् २००२ देखि सुरु भएको दुवै संस्थाबीचको सहकार्यलाई यस समझदारीपत्रमार्फत नवीकरण गरिएको हो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्राध्यापक तथा प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।