विराटनगर - कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय एउटा गम्भीर संवैधानिक र प्रशासनिक विवाद सतहमा आएको छ। प्रदेश सरकार मातहतका अस्पतालहरूको नेतृत्व (मेसु) कसले गर्ने भन्ने विषयलाई लिएर प्रादेशिक र संघीय चिकित्सकहरूबीचको विवादले उग्र रुप लिएको छ।
आफूहरूसँगै पर्याप्त योग्यता र अनुभव भएका विशेषज्ञ चिकित्सक हुँदाहुँदै संघीय सरकारका चिकित्सकलाई नेतृत्व सुम्पिएको भन्दै प्रादेशिक चिकित्सकहरूले सामूहिक राजीनामा र सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
के हो मुख्य विवाद?
कोशी प्रदेश प्रादेशिक चिकित्सक समूहले आइतबार प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलाई अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको छ। उनीहरूको आक्रोशको मुख्य कारण प्रदेशका १०औं र ९औं तहका अनुभवी चिकित्सकलाई पन्छाएर संघीय चिकित्सकलाई 'नेतृत्व' दिएको विषय हो।
यस्ता छन् प्रदेशका चिकित्सकहरुको प्रमुख मागहरू:
• प्रदेशका ज्येष्ठ र योग्य चिकित्सकलाई तत्काल अस्पताल प्रमुख (मेसु) बनाउनुपर्ने।
• काजमा खटिएका संघीय चिकित्सकलाई तत्काल उनीहरूकै दरबन्दीमा फिर्ता पठाउनुपर्ने।
• प्रदेश स्वास्थ्य ऐनमा अध्ययन बिदा, बढुवा र सरुवाका विषयमा न्यायोचित व्यवस्था हुनुपर्ने।
कहाँ कहाँ छ संघीय चिकित्सकको नेतृत्व?
कोशी प्रदेशका १५ जिल्ला अस्पतालहरूको अवस्था हेर्दा प्रदेश सरकार आफ्नै कर्मचारीप्रति कति अनुदार छ भन्ने प्रष्ट देखिन्छ। तथ्यांक अनुसार कोशी प्रदेशका ९ वटा अस्पतालमा संघीय चिकित्सकहरुले नेतृत्व गरेका छन्।
इलाम, कटारी, उदयपुर, ताप्लेजुङ, पाँचथर, तेहथुम, खोटाङ, ओखलढुङ्गा र मदन भण्डारी ट्रमा सेन्टरमा संघीय सरकारबाट खटिएका चिकित्सकले नेतृत्व गरिरहेका छन्। यस्तै संखुवासभा, धनकुटा, सोलुखुम्बु, मेची, भोजपुर र सुनसरी अस्पतालमा भने प्रदेशकै चिकित्सक प्रमुख छन्।
हाल प्रदेशमा १०औं तहका २ जना र ९औं तहका १० जना विशेषज्ञ चिकित्सक उपलब्ध छन्। डा. अमरेश कुसवहा, डा. सुभाष अधिकारी, डा. एलिजा गौतम लगायतका अनुभवी चिकित्सकहरूलाई बाइपास गरी कनिष्ठ वा समान तहका संघीय चिकित्सकलाई मेसु बनाइनुले 'संघीयताकै मर्ममा प्रहार' भएको चिकित्सकहरूको दाबी छ।
प्रादेशिक चिकित्सक समूहका संयोजक डा. सन्तोष राई सरकारको यो कदमलाई 'दोस्रो दर्जाको नागरिक'को व्यवहार मान्छन्। उनी भन्छन्, 'हामीसँग योग्यता र अनुभव दुवै छ, तर सरकारले संघीय काजका चिकित्सकलाई मात्रै काखी च्यापेको छ। अब हामी अधिकारका लागि जुनसुकै कदम चाल्न तयार छौँ।'