काठमाडौं- नेपाल मेडिकल काउन्सिलको सदस्य पदका उम्मेदवार डा. बिजय बिक्रम बमले काउन्सिल सुधार र चिकित्सकको व्यावसायिक विकासलाई केन्द्रमा राख्दै तीन प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। डा बम सेती प्रादेशिक अस्पताल, सुदूरपश्चिममा जनरल सर्जनका रुपमा कार्यरत छन्।
उनले पहिलो एजेन्डाअन्तर्गत देशका सबै प्रदेशमा नेपाल मेडिकल काउन्सिलको शाखा कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले काउन्सिलका सेवाहरू विकेन्द्रीकरण भई चिकित्सकहरूलाई सहज पहुँच हुने उनको भनाइ छ।
दोस्रो एजेन्डामा चिकित्सकहरूका लागि गुणस्तरीय, आधुनिक र नियमित स्वास्थ्यसम्बन्धी तालिमको व्यवस्था गर्ने उल्लेख छ। निरन्तर व्यावसायिक विकास (सीपीडी) तथा कौशल विकास तालिममार्फत चिकित्सकको क्षमता अभिवृद्धि गर्ने उनको लक्ष्य रहेको छ।
त्यसैगरी, तेस्रो एजेन्डाका रूपमा वैदेशिक मेडिकल स्नातक (एफएमजी) चिकित्सकले भोग्दै आएको समस्याको उचित व्यवस्थापन र प्रभावकारी सम्बोधन गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
डा. बमका अनुसार यी एजेन्डाहरू कार्यान्वयन भएमा नेपाल मेडिकल काउन्सिल थप प्रभावकारी, पारदर्शी र चिकित्सक–मैत्री संस्था बन्नेछ।