काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समिति निर्वाचन २०८२ सम्बन्धमा उठाइएका आशङ्काहरूप्रति स्पष्ट पार्दै निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूर्णतः कानुनसम्मत, निष्पक्ष र पारदर्शी रूपमा अघि बढाइएको दाबी गरेको छ।
निर्वाचन समितिका अनुसार पूर्वनिर्धारित निर्वाचन तालिका अनुरूप उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध, छानविन तथा उम्मेदवारी फिर्ता जस्ता सबै अनिवार्य प्रक्रिया पूरा भइसकेका छन्। ती सम्पूर्ण चरण सम्पन्न भएपछि मिति २०८२ पौष ९ गते उम्मेदवारहरूको अन्तिम नामावली (Final List of Candidates) सार्वजनिक गरिएको हो।
यस निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन प्रतिबद्ध रहेको बताउँदै निर्वाचन समितिले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्र र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको यथार्थ जानकारी गराउन स्पष्टिकरण जारी गरेको हो।
निर्वाचन समितिका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य वरिष्ठ अधिकारीहरूसँग विशेष बैठक भएको निर्वाचन समितिले जनाएको छ। सो बैठकमा निर्वाचनका सबै प्रक्रिया प्रचलित कानुन, संघको नियमावली र ‘ड्यू प्रोसेस’ अनुरूप रहेको जानकारी गराइएको थियो।
समितिले सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्न कुनै कसर बाँकी नराखिएको र विधिको शासनलाई सर्वोपरि राखिएको स्पष्ट पारेको छ।
निर्वाचन समितिले कसैलाई पनि मनोनयनबाट वञ्चित नगरिएको दाबी गरेको छ। निर्वाचन नियमावली २०७० अन्तर्गत प्रतिनिधिमार्फत मनोनयन र उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने प्रावधानबीच देखिएको व्यावहारिक असमञ्जस्य समाधान गर्न “नोटरी प्रमाणित वारेसनामा” को वैकल्पिक व्यवस्था गरिएको समितिको भनाइ छ।
यो व्यवस्था विशेष गरी देशबाहिर वा दुर्गम क्षेत्रमा रहेका सदस्यहरूलाई सहभागी गराउने उद्देश्यले गरिएको समितिले जनाएको छ।
नोटरी पब्लिक ऐन २०६३ अनुसार लिखत गर्ने व्यक्ति स्वयं नोटरीसमक्ष उपस्थित हुनुपर्ने कानुनी व्यवस्था बाध्यात्मक भएको निर्वाचन समितिले स्पष्ट पारेको छ। सो प्रावधान नपुर्याइएका कागजातलाई मान्यता दिनु स्वयं कानुन उल्लङ्घन हुने भएकाले रित नपुगेका मनोनयन अस्वीकार गरिएको समितिको भनाइ छ।
वारेसनामामार्फत मनोनयन गर्ने १० जना उम्मेदवारमध्ये रित पुगेका दुई जनाको मनोनयन प्रारम्भिक चरणमै सदर भएको थियो। बाँकी आठ जनाको हकमा गैरकानुनी प्रस्तुति र गम्भीर प्रक्रियागत कमजोरी देखिएकाले मनोनयन कायम गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ।
यस क्रममा डा. अरुण शाहीको वारेसनामा कानुनविपरीत प्रमाणीकरण भएको र डा. सरोज गिरीको वारेसनामा इमेलमार्फत प्राप्त भएकाले अस्वीकार गरिएको समितिले जनाएको छ। अन्य केही उम्मेदवारको पनि रितपूर्वकको वारेसनामा नपुगेकाले मनोनयन दर्ता हुन नसकेको स्पष्ट पारिएको छ।
निर्वाचन समितिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (प्रदेश संयोजक), महासचिव, कोषाध्यक्ष, सह–सचिव, सह–कोषाध्यक्ष तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ।
निर्वाचन समितिले सबै उम्मेदवारमाथि एउटै कानुनी मापदण्ड लागू गरिएको जनाएको छ। केही उम्मेदवारलाई मात्र विशेष छुट दिनु स्वेच्छाचारी र विभेदपूर्ण हुने भएकाले त्यस्तो कार्य निर्वाचनको निष्पक्षतासँग असंगत हुने समितिको निष्कर्ष छ।
अन्त्यमा, निर्वाचन समिति २०८२ ले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रिया अधिकतम सहज, समावेशी, पारदर्शी र कानुनसम्मत बनाउन प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ। निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण नेपाल चिकित्सक संघको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
यस्तो छ विज्ञप्ति