काठमाडौं - मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकले एजिङ उपचारका लागि अल्ट्राफर्मर–३ सेवा सुरु गरेको छ।
चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तीन वर्षदेखि सञ्चालनमा रहेको क्लिनिकले चौथो वर्षमा प्रवेश गरेको अवसरमा अल्ट्राफर्मर–३ सेवा सुरु गरेको हो।
क्लिनिकका अध्यक्ष सागर भूसालले यो व्यवसाय मात्र नभई छालासम्बन्धी समस्या भएका तथा उपचारबाट बञ्चित विपन्न वर्गलाई समेत सेवा उपलब्ध गराउने उद्देश्यका साथ क्लिनिक सञ्चालन गरिएको बताए। उनले अत्यावश्यक उपचार आवश्यक परेका व्यक्तिलाई सहुलियत मात्र नभई निःशुल्क सेवा दिने लक्ष्यसमेत रहेको स्पष्ट गरे।
क्लिनिकका निर्देशक डा मोहन भूसालका अनुसार तेस्रो वार्षिकोत्सवको अवसरमा क्लिनिकले कोरियाको उत्कृष्ट कम्पनी क्लासिसबाट अल्ट्राफर्मर–३ मेसिन नेपालमा पहिलो पटक भित्र्याएको हो। उक्त प्रविधिले छालामा देखिने विभिन्न समस्याको एन्टी एजिङ उपचार सेवालाई अझ प्रभावकारी बनाउने उनले बताए।
उनका अनुसार अल्ट्राफर्मर–३ हाई–इन्टेन्सिटी फोकस्ड अल्ट्रासाउण्ड तथा माइक्रो एण्ड म्याक्रो फोकस अल्ट्रासाउण्ड डिभाइस एन्टी एजिङ उपचारका लागि अत्याधुनिक प्रविधि हो। यस प्रविधिबाट सतही छालाको तहको लागि माइक्रो–फोकस अल्ट्रासाउण्ड तथा गहिरो तहका लागि म्याक्रो–फोकस अल्ट्रासाउण्ड प्रयोग गरिन्छ, जसले बोसो घटाउने तथा शरीरको कन्टूरिङमा समेत सहयोग पुर्याउँछ।
शल्यक्रिया नगरी छाला कस्ने र लोतिएको छालालाई उठाउने उपचार सम्भव हुने डा भूसालले जानकारी दिए। कम उमेरमै छालामा देखिने साना तथा ठूला समस्यामा समेत यो प्रविधि अत्यन्त प्रभावकारी हुने उनको भनाई छ।
क्लिनिकले वार्षिकोत्सवको अवसरमा अल्ट्राफर्मर–३ सेवामा एक हप्तासम्म ५० प्रतिशत छुट, २६ तारिख निःशुल्क केमिकल पिल क्याम्प, २८ र २९ तारिख ओपीडी सेवामा ५० प्रतिशत छुट तथा फार्मेसीमा समेत छुट प्रदान गर्ने क्लिनिककी डा प्रिया भूसालले जानकारी दिइन्। साथै विभिन्न कस्मेटिक सेवामा ५० प्रतिशतसम्म छुटमा विशेषज्ञ डाक्टरसँग परामर्श लिन सकिनेछ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै अतिथि कलाकार ऋचा शर्माले क्लिनिकको सफलताको शुभकामना दिँदै सौन्दर्यको ख्याल गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले विज्ञहरूको टिमद्वारा क्लिनिकले गरेको कामको प्रशंसा गर्दै थप विस्तारको शुभकामना व्यक्त गरिन्। त्यसैगरी अतिथि गायक प्रताप दासले हालसम्म स्किनसम्बन्धी सेवा लिनु नपरेको बताउँदै आवश्यक परे मिराकल क्लिनिकको सेवा लिने बताए।
मिराकल क्लिनिकमा छालासम्बन्धी रोग तथा संक्रमणको उचित निदान र उपचार, एक्ने, दाग–धब्बा, एलर्जी, कपाल झर्ने समस्या, कपाल प्रत्यारोपण, लेजर उपचार, स्किन रेजुभेनेसन, फेसियल एस्थेटिक तथा अन्य सौन्दर्य सेवाहरू उपलब्ध छन्। क्लिनिकले अन्तर्राष्ट्रियस्तरका उपकरण तथा प्रविधिको प्रयोग गर्दै अनुभवी र विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ।