काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता' भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा चिकित्सकहरूको पेसागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै समूहका संयोजक डा. बद्री रिजालले मुख्य ६ वटा विषयमा केन्द्रित रहेर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको जानकारी दिए।
टिम बद्री समूहले सरकारी सेवामा चिकित्सकहरूको न्यून सङ्ख्या रहेको औँल्याउँदै पहिलो वर्षमै २१ सय र पाँच वर्षभित्र १० हजारभन्दा बढी जनशक्ति थप गर्ने प्रक्रियालाई टुंगोमा पुर्याउन सरकारलाई दबाब दिने योजना अघि सारेको छ। चिकित्सकहरूको अतिरिक्त समयको आम्दानीमा लाग्दै आएको कर पुनरावलोकन गर्ने र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता लागू गराउने विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।
कार्यस्थलमा हुने हिंसा र आक्रमण रोक्नका लागि यो टिमले 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन' लाई प्रभावकारी कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको छ। उपचारका क्रममा हुने विवाद र आक्रोशलाई व्यवस्थापन गर्न हरेक अस्पतालमा 'हस्पिटल कम्युनिकेसन एण्ड कन्फ्लिक्ट म्यानेजमेन्ट कमिटी' गठन गर्ने अवधारणा अघि सारिएको छ। साथै, मुलुकी अपराध संहिताको 'इलाज सम्बन्धी दफा' लाई संशोधन गर्न दबाब दिने समेत बताइएको छ।
चिकित्सकहरूको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि वैज्ञानिक 'ड्यूटी आवर' र 'वेलनेस' कार्यक्रम सञ्चालन गर्ने योजना टिम बद्री समूहको छ। संस्थागत सुधारतर्फ एनएमएलाई जिल्ला-जिल्लासम्म विस्तार गर्ने र अग्रज तथा नयाँ पुस्ताका चिकित्सकबीच अनुभव आदानप्रदानका लागि 'एनएमए गुरुकुल सिरिज' सुरु गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ।
संघको निर्वाचन कार्यक्रम अनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।
संघको नयाँ कार्यकारिणी समितिका लागि टिम बद्री समूह अन्तर्गत अध्यक्षमा डा बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा सन्जिब तिवारी, उपाध्यक्ष तथा प्रदेश संयोजकहरुमा डा रोशन खड्का (कोशी), डा अमित रञ्जन मिश्र (मधेश), डा सुवास भट्टराई (बागमती), डा नवराज लम्डारी (गण्डकी), डा नन्दा गुरूङ ( लुम्बिनी) र डा प्रमोद जोशी (सुदूरपश्चिम)ले उम्मेदवारी दिएका छन्।
महासचिवमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिंह मल्लले उम्मेदवारी दिएका छन्।
सदस्यहरुमा डा परशु राम घिमिरे, डा राकेश साह, डा सुमेध मिश्र, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी र डा सुस्मित काफ्लेले उम्मेदवारी दिएका छन्।
यस्ता छन् मुख्य ६ विषयहरु
१. चिकित्सकको दरबन्दी, पारिश्रमिक तथा सेवा सुविधा
नयाँ दरबन्दी, न्यायोचित तलब: टिम बद्रीको संकल्प
२. सुरक्षा : भयरहित सेवा, सुरक्षित पेशा
सुरक्षित कार्यस्थल र कानुनी संरक्षण हाम्रो प्राथमिकता
३. र्यापिड रेस्पोन्स टिम (Rapid Response Team - RRT)
चिकित्सकको सारथि, र्यापिड रेस्पोन्स टिम
४. ड्यूटी आवर र मानसिक स्वास्थ्य
५. शैक्षिक कार्यक्रम र अनुसन्धान
६. सबै चिकित्सक अट्ने एनएमए, सबैलाई जोड्ने एनएमए
सबैको एनएमए, सधैँलाई एनएमए: नयाँलाई अवसर, पुरानालाई सम्मान
हेरौं प्रतिबद्धता पत्रको पूर्णपाठ