काठमाडौं - नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु भएको छ। आज बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।
यसअघि काउन्सिलको निर्वाचन काठमाडौं उपत्यका बाहिर सम्पन्न भइसकेको छ। पुस ४ र ५ गते भएको सो निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको काउन्सिलले जनाएको छ। उपत्यकामा ४ हजारदेखि ५ हजार मत खस्ने अनुमान गरिएको छ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार बाहिरका मतदान केन्द्रहरूमध्ये भरतपुर अस्पताल, चितवनमा सबैभन्दा धेरै मत खसेको छ। उक्त केन्द्रमा मात्र ९६६ मत खसेको उनले जानकारी दिए।
काउन्सिलको निर्वाचनका लागि देशभर २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौं उपत्यकाभित्र हुने निर्वाचनका लागि पुस ११ र १२ गतेको मिति तय गरिएको छ।
कहाँ कति मत खस्यो ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८००
हेटौंडा हस्पिटल – १३९
लहान हस्पिटल – १३०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ५८१
गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी – ८७
मेची प्रादेशिक अस्पताल, भद्रपुर (झापा) – २७५
प्रादेशिक अस्पताल, जनकपुर – ६१७
नारायणी हस्पिटल, वीरगन्ज – ४९१
कोशी हस्पिटल, विराटनगर – ९२५
लुम्बिनी प्रादेशिक हस्पिटल, बुटवल – ४३२
भरतपुर हस्पिटल, चितवन – ९६६
पाल्पा हस्पिटल, तानसेन – ११५
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही – १८८
कर्णाली प्रादेशिक अस्पताल – १२३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ९२
भीम हस्पिटल, भैरहवा – २७१
धनगढी हस्पिटल – २९६
भेरी हस्पिटल, नेपालगञ्ज – ३१८
काठमाडौं उपत्यकामा हुने मतदानपछि शनिबार साँझ वा आइतबार बिहानदेखि मत गणना सुरु हुने काउन्सिलले जनाएको छ।