काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीका लागि उम्मेदवार बन्न इच्छुकको संख्या ४ सय नाघेको छ। पार्टीका अनुसार समानुपातिकतर्फ उम्मेदवार हुन ३८७ जनाले आवेदन दिएका छन् भने भर्चुअल माध्यमबाट छनोट प्रक्रियामा सहभागी हुने २७ जना छन्। यससँगै समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको संख्या ४१४ पुगेको छ।
समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टरमा उम्मेदवारी आकांक्षा देखिएको छ। तीमध्ये दलित क्लस्टरमा ४१ जना उम्मेदवार आकांक्षी रहेका छन्। दलित क्लस्टरका आकांक्षीमध्ये डा. रुपक घिमिरे पनि एक हुन्।
डा. घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक हुन्। पेशाले चिकित्सक रहेका उनी स्वास्थ्य नीतिगत सुधार र परिवर्तनमुखी राजनीतिमा सक्रिय नागरिकका रूपमा चिनिन्छन्।
उनले काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस तथा छालारोग विशेषज्ञ (एमडी डर्माटोलोजी) अध्ययन पूरा गरेका छन्। साथै भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्। काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा सेवा गरिसकेका डा. घिमिरे हाल काठमाडौँको दरबारमार्गमा ‘आवरण स्किन क्लिनिक’ सञ्चालन गर्दै आएका छन्। उक्त क्लिनिकमार्फत स्वदेशसँगै विश्वका ३० भन्दा बढी देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ।
डा. घिमिरे हालै नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन्। सो अवधिमा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा पहल गर्नुका साथै काउन्सिलका सेवाहरू डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्रिय भूमिका खेलेको बताइन्छ।
स्वास्थ्य क्षेत्रबाहेक उनी मिस्टर नेपाल २०११ का विजेता हुन् भने २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्र ‘चकलेट’ का नायकसमेत रहिसकेका छन्। यसका साथै उनले दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनय गरेको अनुभव पनि छ। युवाशक्तिको आवाज संस्थागत गर्न ‘हामी नेपाल’ संस्थाका संस्थापक उपाध्यक्षका रूपमा उनी जेन–जी आन्दोलनमा सक्रिय रहँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि यही पुस १२ गते शनिबार बिहान ७ बजेदेखि पुस १३ गते आइतबार साँझसम्म RSP Mobile App मार्फत मतदन प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यासमार्फत उम्मेदवार छनोट गर्ने लक्ष्य लिएको बताएको छ।