काठमाडौं - कियोच–काठमाडौँ बाल अस्पतालले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दुई दिने नि:शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शिविरमा विभिन्न रोगका वरिष्ठ बालरोग विशेषज्ञहरूबाट प्रत्यक्ष परामर्श तथा उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
शिविर यही पौष १३ र १४ गते (२०८२) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। शिविर बुढानिलकण्ठ–७, हेपाली हाइटस्थित कियोच–काठमाडौँ बाल अस्पताल परिसरमा आयोजना गरिने छ।
अस्पतालका अनुसार शिविरमा सामान्य बाल स्वास्थ्य, नवजात शिशु सेवा, बाल मानसिक स्वास्थ्य, बाल मुटु रोग, बाल नेफ्रोलोजी, बाल हाइड्रोनेफ्रोलोजी, बाल शल्यचिकित्सा, बाल नसा तथा पेटसम्बन्धी रोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा, बाल रक्त रोग तथा क्यान्सरलगायतका सेवाहरू उपलब्ध हुनेछन्। साथै ओपीडी जाँचसँगै प्रयोगशाला, एक्स–रे, युएसजी, इको र इसिजी सेवा पनि प्रदान गरिने छ।
कियोचका अध्यक्ष डा. भगवान कोइरालाका अनुसार समुदायस्तरमै गुणस्तरीय बाल स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो। 'बालबालिकाको समयमै स्वास्थ्य परीक्षण र उपचारले दीर्घकालीन समस्याबाट जोगाउन सकिन्छ। यही सोचका साथ यो शिविर आयोजना गरिएको हो,' उनले बताए।
अस्पतालले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई शिविरमा ल्याई विशेषज्ञ चिकित्सकबाट नि:शुल्क परामर्श र उपचार सेवा लिन आग्रह गरेको छ। थप जानकारीका लागि अस्पतालको फोन नम्बर ०१–४३७०३७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
