काठमाडौं - तेमाल गाउँपालिका, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरले आयोजना गरेका निःशुल्क शल्यक्रिया शिविरमा ६९ जनाले सेवा लिएका छन्।
क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा यही मंसिर २४ र २५ गते मोतिबिन्दु तथा अन्य रोगका बिरामीहरूका गरिएको शिविरमा ६९ जनाले निःशुल्क शल्यक्रियाको सेवा लिएका छन्।
६३ जना मोतिबिन्दु र ६ जना आँखामा मासु पलाएका बिरामीहरू गरी जम्मा ६९ जनाको निःशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।
शल्यक्रिया पोखरी नारायण स्थान स्वास्थ्य चौकी तेमालमा गरिएको हो। नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा सुदीप राज भण्डारीको नेतृत्वमा उक्त शिविर गरिएको थियो।
शल्यक्रिया गरिएका सबै ६९ जना बिरामीहरूलाई आवश्यक पर्ने औषधि, कालो चस्मा र अन्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ। साथै पुनः एक सातामा पोखरी नारायणस्थानमा अवस्थित तिमाल ग्रामीण आँखा केन्द्रमा फलोअप आउनको लागि जानकारी गराइएको छ। शल्यक्रिया शिविरमा ४४ वर्षदेखि ८८ वर्षसम्मका उमेर समूहले सेवा लिएका छन्।