काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिले रक्तदान तथा रक्तदान जागरण गीतहरुको सामुहिक लोकार्पण गरेको छ।
सांगितिक माहोलमा गरौँ रक्तदान भन्ने नारा सहित समितिले बिहीबार उक्त गीतहरुको सामुहिक लोकार्पण गरेको हो। प्रेमपूर्ण सानुमैयाँ असहाय सेवा कोषको सहयोगमा नेपाल पुलिस क्लबको सभाकक्षमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि बौद्ध भिक्षु कोण्डन्य महास्थविरले १८ वर्ष पुरा गरी पहिलो पटक रक्तदानमा सामेल हुन लागेकी निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको शब्द रचना तथा वरिष्ठ संगीतकार मनराज नकर्मीको संगीत संयोजनमा तयार भएका ६ वटा रक्तदान जागरण गीतहरू सामूहिक रूपमा लोकार्पण गरिएको छ। कर्माचार्यले संगीत क्षेत्रमा रचनाकारहरू प्रायः ओझेलमा पर्ने गरेको उल्लेख गर्दै गीत–संगीतको मूल आत्मा शब्दमै निहित हुने धारणा राखे।
कार्यक्रममा रक्तदान जागरण गीतमा योगदान पुर्याएका कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कोण्डन्य महास्थविरले कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। सोही अवसरमा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामलाई बधाई तथा शुभकामना–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो।