चितवन- नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमितिका मन्त्री स्वर्गीय राममणि खनालको १३औँ पुण्यतिथीको अवसरमा वृहत् रक्तदान तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमितिको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी सभापति कृपाकुमारी राजभण्डारीको सभापतित्वमा तथा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको सुरुआत सभापति कृपाकुमारी राजभण्डारी, प्रमुख अतिथि चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमितिका उपसभापति रत्नप्रसाद सापकोटा, जिल्ला सभापति हरिप्रसाद पौडेललगायतले शोक मन्तव्य व्यक्त गर्दै मौनधारण र पुष्पगुच्छा अर्पण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए। दीप प्रज्ज्वलन कार्यक्रम भने दिउँसो ४ बजे आयोजना गरिएको थियो।
वृहत् रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमिति, मातहतका ४१ वटा उपशाखा तथा विद्यालयस्तरका रेडक्रस सर्कलहरूको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले स्व. राममणि खनाललाई सामाजिक क्षेत्रमा होनाहार व्यक्तित्वका रूपमा स्मरण गर्दै उनले रेडक्रसमार्फत मानवीय सेवा पुर्याउनुका साथै शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेलेको बताए। स्व. खनालको योगदानलाई स्मरण गर्दै मानवताको पक्षमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटीले रक्तदानजस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव कम गर्न सहयोग पुग्ने र सामाजिक सेवाको भावना थप बलियो बन्ने विश्वास व्यक्त गरेको छ।
