काठमाडौं - नेपाल चिकित्सक संघले माइतीघर मण्डलामा आमरण अनसरत डा कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गरी अनसनरत डा भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएकाले जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ सरकारसँग जोडदार माग गर्दछ।’
सात दिनदेखि अनसनमा रहेका डा भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ। सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको विज्ञप्तिमा उल्लेख छ।