काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण कदमहरू चालेको बताएकी छिन्। २०८२ कार्तिक १० गते पदबहाली गरेकी मन्त्री गौतमले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएकी हुन्।
मन्त्रालयले मन्त्री भएका दुई महिनामा उनको नेतृत्वमा भएका कार्यप्रगति सार्वजनिक गरेको हो। मन्त्री गौतमले पदबहाली लगत्तै पहिलो निर्णयका रूपमा जेन–जी आन्दोलनका घाइते तथा प्रभावितहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने घोषणा गरिन्। यसका साथै, शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्ने योजना अघि सारिन्। मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै सबै संघीय अस्पतालहरूमा आवश्यक औषधि र उपचारको व्यवस्था मिलाउने काम अघि बढाइएको छ।
मन्त्रालयले ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना’ ल्याएको छ, जसअन्तर्गत दुई महिनाभित्र संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने, नागरिकमैत्री सेवा प्रवाह गर्ने र मातृ तथा नवजात शिशु मृत्युदर उच्च भएका प्रदेशहरूमा विशेष अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउने र सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउने काम पनि प्राथमिकतामा परेका छन्।
मन्त्री गौतमले परम्परागत तथा आयुर्वेद चिकित्सालाई पनि महत्व दिँदै नरदेवी आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छिन्। यसका लागि स्वास्थ्य बीमामा आयुर्वेद उपचार समावेश गर्ने प्रयास भइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशकसँगको भेटमा स्वास्थ्य बीमा र औषधि व्यवस्थापन सुधारका कदमहरूबारे छलफल भएको थियो।
आप्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वैदेशिक रोजगारीमा जानेहरूका लागि स्वास्थ्य जाँच र परामर्श सेवालाई प्रभावकारी बनाउने काम अघि बढेको छ। यसबाहेक, विभिन्न अस्पतालहरूको निरीक्षण, नर्सहरूको माग सम्बोधन र स्वास्थ्य सूचक कमजोर प्रदेशहरूमा लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
मन्त्री गौतमले सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुदृढीकरणलाई मुख्य कार्यादेशका रूपमा अघि बढाएकी छिन्। दुई महिनाको छोटो अवधिमा नै यी रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यी उपलब्धिहरूले नागरिकको स्वास्थ्य अधिकारलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएका छन्।

