काठमाडौं - नेपाल स्वास्थ्यकर्मी युनियनले स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचन सम्बन्धी कार्यतालिकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्ड सदस्यहरूको निर्वाचन गराउन परिषद्ले पुनः प्रकाशित गरेको सूचना र निर्वाचन कार्यतालिकाप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। युनियनले विज्ञप्ती जारी गर्दै ठूलो समूहलाई बाहिर राखेर परिषद्लाई पूर्णता दिने नाममा भइरहेको चलखेलहरू अत्यन्त खेदजनक, विभेदपूर्ण र अन्यायको पराकाष्ट भएको बताएको छ।
स्वास्थ्य व्यवसायी परिषद्लाई पूर्णता दिनु नराम्रो नभएतापनि परिषद्मा दर्तावाला ठूलो समुहलाई बाहिर राखेर पूर्णता दिने नाममा चलखेल भइरहेको यूनियनको ठहर छ।
युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वल कुमार शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य व्यवसायी परिषद्मा चिकित्सा तृतीय तहमा दर्ता भएका स्वास्थ्य व्यवसायीहरूलाई स्वास्थ्य व्यवसायी परिषद् बोर्डमा करदाता र मतदाता मात्र बनाई उनीहरूको बोर्डमा हुने प्रतिनिधित्व स्वीकार नगर्नुले लगभग एक खालको संख्यामा तृतीय तहमा दर्ता भएका स्वास्थ्य व्यवसायीहरू अत्यन्त पीडामा परेको तितो यथार्थ यहाँहरु सामु अवगतै छ।’
थप भनिएको छ, ‘उक्त कानुनी विभेदलाई निराकरण गरी वञ्चितीकरणमा परेका स्वास्थ्य व्यवसायीहरूको बोर्डमा प्रतिनिधित्व हुने सुनिश्चितता गरेर मात्र निर्वाचन गराउन यसअघि पनि विज्ञप्ति प्रकाशन गरी ध्यानाकर्षण गराइएकोमा उक्त विज्ञप्तिलाई नजरअन्दाज गरी पुन उही अवस्थामा निर्वाचन कार्यतालिका प्रकाशन गर्नु सरासर गैर जिम्मेवारी कदम भएको हाम्रो ठहर छ।’
खबरदारीलाई कमजोर ठानी यथास्थितिमा निर्वाचन गराउन खोजेमा दुर्घटना निम्तने सक्ने चेतावनी समेत युनियनले दिएको छ।