काठमाडौं - औषधि व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण सात दिनभित्र उपलब्ध गराउन स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई निर्देशन दिएको छ।
विभागले आज एक सूचना जारी गर्दै अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने र कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री र उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई उक्त निर्देशन दिएको हो।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्रि वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ।
सोही निर्देशिका अनुसार यो सूचना जारी भएको सात दिनभित्र उक्त विवरण विभागमा उपलब्ध गराउन विभागले भनेको हो।