काठमाडौं - होपफुल होराइजन्स नेपालले प्रतिष्ठित रामबाबु–ग्यानु सामाजिक सेवा पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार प्रख्यात शिक्षाविद् तथा सामाजिक अभियन्ता प्रा. डा. केदार भक्त माथेमाले प्रदान गरेका हुन्।
यस सम्मानले नेपालभर मानसिक स्वास्थ्य सेवा, परामर्श तथा समुदायस्तरमा गरिएको होपफुल होराइजन्स नेपालको निरन्तर योगदानलाई उजागर गरेको छ। सामाजिक दायित्वअन्तर्गत संस्थाले विभिन्न संस्था, कार्यस्थल तथा समूहहरूमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।
होपफुल होराइजन्स नेपालले सामुदायिक सेवाका रूपमा उन्नति फाउन्डेसन, नेपाल स्नेही काख, नेपाल बाल सुधार गृह तथा विभिन्न कलेजहरूमा आयोजना गरिएका स्वास्थ्य शिविरहरूमा निःशुल्क मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ।
संस्थाले आफ्नो समर्पित टोली, सहकर्मी पेशेवरहरू, स्वयंसेवकहरू तथा निरन्तर साथ दिँदै आएका सहयोगीहरूप्रति आभार व्यक्त गर्दै, यो उपलब्धि सबैको साझा प्रयासको परिणाम भएको जनाएको छ।
त्यस्तै, संस्थाले रामबाबु–ग्यानु सामाजिक सेवा पुरस्कार कोष तथा पुरस्कार प्रदानकर्ता प्रा. डा. केदार भक्त माथेमाप्रति विशेष आभार प्रकट गर्दै, यस उपलब्धिले नेपालका समुदायहरूलाई अझ स्वस्थ र सुदृढ बनाउने उद्देश्यका साथ आफ्ना सेवा तथा पहुँच विस्तार गर्न थप प्रेरणा मिलेको उल्लेख गरेको छ।