काठमाडौं - देशभर चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै समस्या लिएर अस्पताल पुग्ने बिरामीहरुको संख्या पनि बढ्दै गएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा करिब एक सातादेखि चिसोजन्य समस्या लिएर पुग्ने बिरामी बढ्न थालेको छ।
अस्पतालका निर्देशक डा युवानिधी बसौंलाका अनुसार हाल ओपिडीमा दैनिक १ हजारको हाराहारीमा बिरामी आउने गरेको बताउँछन्। अस्पताल आउने अधिकांशजसो रुघाखोकी, ज्वरो तथा दमका बिरामी रहेको उनले जानकारी दिए। थोरै संख्यामा झाडापखालाका बिरामीहरु पनि अस्पताल पुग्ने गरेका छन्। त्यसमा पनि वृद्धवृद्धा र दीर्घ रोगीहरु बढी हुन्छन्। अस्पतालमा भर्ना नै भएर सेवा लिने बिरामीको संख्या भने पछिल्लो साता घटेको उनले जानकारी दिए।
रुघाखोकीका बिरामी निमोनिया भइसकेपछि वा जटिल अवस्थामा मात्रै अस्पताल भर्ना हुने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। उनका अनुसार चिसो मौसममा रुघाखोकी, कमन कोल्ड, फ्लु, झाडापखाला जस्ता समस्या बढी देखिन्छ। धेरैलाई कमन कोल्ड, फ्लु लगायतले सताउने गरेको उनको अनुभव छ।
चिसो बढ्दै जाँदा सर्ने रोगका साथै नसर्ने रोगका कारण पनि जोखिम बढ्दै जाने उनी बताउँछन्। उनका अनुसार यो समयमा मुटु रोगका कारण हुने मृत्युको जोखिम तथा उच्च रक्तचापका बिरामीहरुलाई हृदयघात हुने सम्भाावना पनि बढ्ने गर्छ।
चिसोमा युवा अवस्थाका मानिसले समेत हृदयघातका कारण ज्यान गुमाउने जोखिम बढ्ने उनले बताए। मुटु तथा दमका बिरामीहरुमा स्वास्थ्य समस्या बढ्ने भएकोले त्यस्ता बिरामीहरुलाई विशेषगरी चिसोमा स्वास्थ्यको ख्याल राख्न उनको सुझाव छ।
चिसोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
चिसो सुख्खापनको समय भएकोले झोलिलो खानेकुराको सेवन बढी गर्न डा पुनको सुझाव छ। चिसो मौसम धुलो धुँवा तथा प्रदुषणको मौसम पनि भएकोले फोक्सो तथा मुटुरोगीहरुले विशेषरुपमा स्वास्थ्यको ख्याल राख्नुपर्ने उनले बताए।
दीर्घरोगीहरु नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहन उनी सुझाव दिन्छन्। रुघाखोकीबाट जोगिन सार्वजनिक स्थानमा माक्सको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, रुघाखोकी धेरै लाग्ने मानिसले फ्लुको खोप लगाएर पनि जटिल अवस्थामा पुग्नबाट जोगिने सकिने डा पुनले बताए।
के छ सरकारको तयारी ?
चिसोबाट जोगिनका लागि स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले पूर्व तयारी गरेको प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्।
चिसोको सुरुवातसँगै मन्त्रालयले देशैभरीका स्वास्थ्य संस्थामा कार्यरत फिजिसियन लगायत विज्ञ जनशक्तिलाई लामो बिदामा नजानका लागि निर्देशन दिएको उनले बताए।
चिसोमा आइपर्ने स्वास्थ्य समस्याहरुसँग सामना गर्न कर्मचारीहरुलाई अभिमुखीकरण दिने तथा स्वास्थ्य संस्थामा औषधिको आपूर्ति सहज रुपमा गराउने व्यवस्था गरिएको प्रवक्ता डा बुढाथोकीको दाबी छ।
स्वास्थ्य संस्थामा दैनिक कस्ता बिरामीहरु आउने गरेका छन् भने निगरानी प्रक्रियालाई समेत अगाडि बढाइएको उनले जानकारी दिए। सञ्चार माध्यम तथा मन्त्रालयका सामाजिक सञ्जालमार्फत् चिसोमा देखिन सक्ने स्वास्थ्य समस्याहरु तथा जोगिने उपायहरुका बारेमा मन्त्रालयले जानकारी दिदैं आएको उनी बताउँछन्।
मधेश प्रदेशमा शितलहरबाट पर्न सक्ने जोखिमलाई कम गर्नका लागि मन्त्रालयले बैठक नै बसेर तयारी अवस्थामा रहनका लागि निर्देशन दिइसकेको उनको दाबी छ। यसका लागि मधेश प्रदेशका मन्त्रालय, निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रलाई पूर्वतयारीका लागि निर्देशन समेत दिइसकिएको उनी बताउँछन्।