काठमाडौं - आमरण अनसनरत डा निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
स्वास्थ्यमा विभिन्न समस्याहरू देखापरेकोले नेपाल चिकित्सक संघको पहलमा उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो।
संघका अध्यक्ष डा अनिल विक्रम कार्की, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा कुन्जाङ शेर्पा सहितको चिकित्सकको टोलीले उनलाई उपचारका लागि माइतीघर मण्डलादेखि वीर अस्पताल लगेका हुन्।
९ दिनदेखि अनसनमा रहेका डा भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको थियो। डा भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न संघले सरकारसँग माग गरेको छ।
संघका अध्यक्ष डा कार्कीले डा भुसालको जीवनरक्षाका लागि सरकारले अविलम्ब कदम नचाले कडा कदम चाल्ने जानकारी दिए।
'तत्कालै वार्ता मार्फत डा निकोलसको मागका विषयमा सरकारले सम्बोधन नगरे उहाँको जीवनरक्षाका लागि हामी कडा कदम चाल्न बाध्य हुनेछौं,' उनले भने।
उनले सरकारसँग तत्कालै वार्ता समिति बनाउन पनि माग गरे।