काठमाडौं- कोटेश्वर–३२ निवासी १०३ वर्षीया वृद्धामाथि वीर अस्पतालमा गरिएको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया सफल भएको छ। अत्यन्तै नाजुक र उच्च उमेर हुँदाहुँदै पनि सफल मस्तिष्क शल्यक्रिया हुनु चिकित्सकीय क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको शल्यक्रियामा संलग्न टोलीले जनाएको छ।
वीर अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएकी ती वृद्धाले जीवनभर कुनै अस्पतालमा उपचार नगराएकी थिइन्। पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिए पनि परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। तर दुई दिनसम्म लगातार अचेत भएपछि उनलाई अन्य अस्पताल लगिएको थियो।
बिरामीले सधैं वीर अस्पतालप्रति विश्वास व्यक्त गर्दै आएको र अवस्था झन् जटिल बन्दै गएपछि परिवारले अन्ततः वीर अस्पताल ल्याउने निर्णय गरेको बताइएको छ। अस्पताल आइपुग्दा उनी अचेत अवस्थामा थिइन्। विस्तृत जाँच–परीक्षणपछि उनको मस्तिष्कमा अत्यन्त ठूलो रक्तस्राव (सबड्युरल हेमरेज) भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो।
१०० वर्षभन्दा बढी उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती रहेको चिकित्सकहरू बताउँछन्। बिरामीको परिवारले समेत बाँच्ने आशा लगभग गुमाइसकेको अवस्थामा न्यूरोसर्जरी विभागको टोलीले गहिरो छलफल तथा परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय गरेको थियो।
प्रा. डा. राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष बिमली, नर्स सिन्धु गौतम तथा अन्य स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
शल्यक्रियापश्चात बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ। 'हाल उनी होसमा छिन्, बोल्न सक्ने अवस्थामा छिन् र आफैं खाना खानसमेत सक्षम भएकी छिन्,' विज्ञप्तिमा उल्लेख छ।
१०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ। यस्ता केही मात्र केसहरू अन्तर्राष्ट्रिय रूपमा रिपोर्ट भएका छन्। वीर अस्पतालको न्यूरोसर्जरी विभागले यस असाधारण उपलब्धि साझा गर्न पाउँदा गर्व र सन्तुष्टि व्यक्त गर्दै उमेरको सीमा नहेरी बिरामीप्रति समर्पित सेवा, सहकार्य र सूक्ष्म निर्णय प्रक्रियाको उदाहरण प्रस्तुत भएको विज्ञप्ति मार्फत जनाएको छ।