काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त भएकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १४ गतेको निर्णयअनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अनुसार डा श्रेष्ठलाई नियुक्त गरेका हुन्। उनको कार्यकाल चार वर्षको रहनेछ ।
प्रतिष्ठानको बालचिकित्सा विभागमा लामो समयदेखि अध्यापन र सेवा दिँदै आएकी डा. श्रेष्ठको नियुक्तिलाई प्रतिष्ठानको शैक्षिक गुणस्तर, अनुसन्धान संस्कृति र स्वास्थ्य जनशक्ति उत्पादनमा नयाँ गति दिने कदमका रूपमा हेरिएको प्रतिष्ठानका कर्मचारीहरुले बताएका छन्।
चिकित्सा शिक्षा, विद्यार्थी–केन्द्रित सिकाइ र सामुदायिक स्वास्थ्य सेवामा उनको अनुभव प्रतिष्ठानका दीर्घकालीन लक्ष्यसँग मेल खाने विश्वास पनि कर्मचारीहरुले लिएका छन्।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा डा. श्रेष्ठको नेतृत्वले प्रतिष्ठानको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ।