काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक तर्फको सूचीमा ७ जना मेडिकल डाक्टरलाई समावेश गरेको छ। स्वास्थ्य क्षेत्रबाट लामो समयदेखि सेवा दिँदै आएका विज्ञहरूलाई राजनीति मार्फत् नीति निर्माणमा सहभागी गराउने उद्देश्यका साथ पार्टीले चिकित्सकहरूलाई प्राथमिकता दिएको हो।
समानुपातिक सूचीमा परेका डाक्टरहरूमा डा मनोहर प्रधान, डा रञ्जित पञ्जियार, डा रूपक विश्वकर्मा घिमिरे, डा त्रिशला गुरुङ, डा रामजी राम, डा अभिषेक राज सिंह र डा विक्की कुमार पटेल रहेका छन्। उनीहरू सबै आ–आफ्नो क्षेत्रमा सक्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित छन्।
रास्वपाले स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएकोले चिकित्सकलाई प्राथमिकता दिएको डा रुप विश्वकर्मा घिमिरे बताउँछन्। उनका अनुसार स्वास्थ्य प्रणालीमा देखिएका संरचनागत समस्या, जनशक्ति व्यवस्थापन, पहुँच र गुणस्तर सुधारका लागि प्रत्यक्ष अनुभव भएका चिकित्सकहरूको भूमिका प्रभावकारी हुनेछ।