काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचनमा तृतीय तहका स्वास्थ्यकर्मी उम्मेदवार बन्न पाउनुपर्ने माग गरेको छ।
परिषद्ले जारी गरेको कार्यतालिका स्थगित गरी तृतीय तहका स्वास्थ्यकर्मी पनि उम्मेदवार बन्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न संघले माग गरेको हो।
परिषदको निर्वाचन कार्यतालिका स्थगित गरी सरोकारवालासँगको छलफल र संवादबाट मात्र निर्वाचन प्रक्रिया अघि बढाउन पनि संघले माग गरेको छ।
वर्षौदेखि रोकिएको निर्वाचन हुनु उत्साहको विषय भएपनि तृतीय तहमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई उम्मेदवार हुनबाट बञ्चित गरी मतदानको मात्र अधिकार दिएको विज्ञप्तिमा उल्लेख छ।
परिषद्को वार्षिक प्रतिवेदन अनुसार करिब एक लाख स्वास्थ्यकर्मी तृतीय तहमा दर्ता छन्। ठूलो संख्यामा रहेका यी स्वास्थ्यकर्मीहरुलाई उम्मेदवार हुनबाट बञ्चित गराउँदा उनीहरुको मनोबलमा ह्रास आउने र सेवा प्रवाहमा समेत प्रत्यक्ष असर पर्ने संघको भनाई छ।