काठमाडौं - मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले इलेक्ट्रोफिजियोलोजी सेवा सुरु गरेको छ। मुटुरोग उपचारको आयामलाई थप विस्तार गर्दै सेन्टरले यो सेवा सुरु गरेको हो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले एक कार्यक्रमका बीच औपचारिक रुपमा यो सेवाको उद्घाटन गरे।स्वास्थ्य मन्त्रालयको सहयोगमा सेन्टरले फ्याकल्टी चिकित्सकलाई अध्ययन तालिममा पठाई जनशक्ति विकास गरेको जनाएको छ। साथै सुरुवाती रुपमा दुई दर्जन बढी केस सफलतापूर्वक सम्पन्न गरेको सेन्टरले जनाएको छ।
इलेक्ट्रोफिजियोलोजी सेवा सुरु हुनाले वार्षिक सयौँ बिरामीले समयमै उपचार प्राप्त गर्ने तथा इलेक्ट्रोफिजियोलोजी विद्यामा दक्ष जनशक्ति वृद्धि भई देशभरी सेवा विस्तारमा टेवा पुग्ने सेन्टरको अपेक्षा छ।
के हो इलेक्ट्रोफिजियोलोजी ?
मुटुको उपचारको क्षेत्रमा इलेक्ट्रोफिजियोलोजी सेवा एक विशिष्ट उपचार विधि हो। इलेक्ट्रोफिजियोलोजी जस्तो विशिष्ट सेवा एक सरकारी र एक निजीमा गरी दुई वटा अस्पतालमा मात्र उपलब्ध छन्।
सेवा उपलब्धताको सीमितका कारण बिरामीले उपचारका लागि लामो समय पर्खनुपर्ने वा विदेश जानुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।
इलेक्ट्रोफिजियोलोजी भनेको मुटुको धड्कनमा देखिने अनियमितता जाँच्ने र उपचार गर्ने विशेष सेवा हो। मुटु अस्वाभाविक रुपमा छिटो वा ढिलो धड्किनुका कारण बिरामीलाई मुटु ढुकढुकी बढने, घुमाउने, अचानक बेहोस हुने वा स्ट्रोकजस्ता गम्भीर समस्या आउन सक्छ।
यस्ता लक्षण भएका बिरामीहरुलाई यो सेवा अत्यन्तै उपयोगी हुने अस्पतालले जनाएको छ। यस सेवामा विशेषज्ञहरुले परीक्षण र उपचार प्रविधि प्रयोग गरी मुटुको समस्या कहाँबाट आएको हो भनेर पत्ता लगाउँछन् र फेरी मुटुलाई सुरक्षित र सामान्य तरिकाले धड्कन सहयोग गर्छन्।