रौतहट - नेपाल डेन्टल हाइजेनिस्ट एशोसिएसन (एनडीएचए) ले रौतहट क्षेत्र नं. १ सँग सम्बन्धित हालै सार्वजनिक भएका केही समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एशोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा रौतहट–१ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका दिलिप कुमार यादव चिकित्सक (डाक्टर) नभइ डेन्टल हाइजेनिस्ट भएको स्पष्ट पारेको छ। विज्ञप्तिअनुसार यादव नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) बाट दर्ता नं. B-2213 DH अन्तर्गत लाइसेन्स प्राप्त गरी दन्त स्वास्थ्य सेवामा संलग्न आधिकारिक स्वास्थ्यकर्मी हुन्।
संघकाअनुसार केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यादवलाई चिकित्सकका रूपमा प्रस्तुत गर्दै भ्रामक र तथ्यहीन सामग्रीहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति संस्थाको आपत्ति रहेको छ। यस्ता गलत विवरणले स्वास्थ्य पेशासँग सम्बन्धित जनविश्वासमा असर पार्ने भन्दै एशोसिएसनले यथार्थ विवरण मात्र प्रकाशन गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा यादव विगत लामो समयदेखि वीरगञ्जस्थित उज्ज्वल डेन्टल केयर एण्ड अर्थोडोन्टिक सेन्टरमा कार्यरत रही नेपाल सरकारको नियमानुसार दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख छ। साथै, यादव एनडीएचए उपाध्यक्ष समेत रहेको जानकारी दिइएको छ।
एशोसिएसनले रौतहट–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको टिकट समेत पाइनसकेको एशोसिएसनको भनाइ छ।
एशोसिएसनका सचिव उमेश कुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा डेन्टल हाइजेनिस्ट पेशाप्रति सम्मान गर्न, तथ्यमा आधारित पत्रकारिता गर्न तथा भ्रामक प्रचारप्रति सचेत रहन सबै सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गरिएको छ।
