चितवन - भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको औषधि परामर्श कक्ष बिरामीलाई पायक पर्ने ठाउँमा सारिएको छ। अस्पताल फार्मेसीको काउन्टर नम्बर ३ को पछाडी रहेको औषधि परामर्श कक्षलाई हाल बिरामीले देख्ने गरी अगाडी सारिएको छ।
यो कक्षमा बिरामीहरुलाई औषधिको सचेत प्रयोगबारे जानकारी दिईन्छ। भरतपुर अस्पतालको फार्मेसीमा औषधि लिन आउने प्रत्येक बिरामीहरुलाई औषधि लिएपछि यो कक्षमा पठाइने गरिन्छ। जहाँ उनीहरुलाई उक्त औषधिको सही र सचेत प्रयोग बारे जानकारी दिइने गरेको अस्पतालले जनाएको छ।
यो कक्षमा बिरामीलाई औषधि खाना अघि र पछि खानु भनेर मात्र पठाइदैन। औषधिले निम्त्याउन सक्ने साइड इफेक्ट र त्यसलाई न्यूनीकरण गर्न सकिने उपाय बारे पनि जानकारी दिइन्छ। बिरामीले औषधि सम्बन्धी अन्य थप जानकारी लिनुका साथै आफ्ना जिज्ञासा पनि मेटाउन सक्छन्।
बिरामीमा औषधिको सही प्रयोग बढाउनु नै परामर्श कक्षको मुख्य उद्देश्य भएको अस्पतालले जनाएको छ।