विराटनगर- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को आसन्न कार्यकारिणी निर्वाचनमा चिकित्सक सुरक्षाको मुद्दा केन्द्रीय एजेन्डा बन्दै गएको छ। ‘टिम बद्री’ तर्फबाट सहसचिव पदका उम्मेदवार डा. हुलास अग्रवालले कार्यस्थलमा चिकित्सकमाथि हुने दुर्व्यवहारविरुद्ध संगठन निर्णायक भूमिकामा उत्रिनुपर्ने बताएका छन्।
विराटनगरमा आयोजित टिम बद्री विधि डक्टर्स कार्यक्रमलाई सम्बोधन गर्दै डा. अग्रवालले चिकित्सकमाथि हुने कुटपिट, दुर्व्यवहार र दबाबलाई अब सहन नसकिने स्पष्ट सन्देश दिए। ‘डक्टरलाई हात हाल्ने जो कोही भए पनि व्यवस्थापन पक्ष होस् वा अन्य समूह, त्यसलाई संस्थागत रूपमा कडा जवाफ दिनुपर्छ,’ उनले भने।
उनका अनुसार टिम बद्रीले चिकित्सक सुरक्षालाई नारामा मात्र सीमित नराखी नीतिगत तहमा अघि बढाइसकेको छ। वर्कप्लेस ह्यारासमेन्ट पोलिसी ड्राफ्ट गरेर औपचारिक पहल गरेको उल्लेख गर्दै उनले नीति निर्माणसँगै कार्यान्वयनमा जोड दिए।
रेजिडेन्ट चिकित्सकका समस्या, मेडिकल अफिसरको पारिश्रमिक, र पेशागत सम्मानका सवालमा टिम बद्री निरन्तर सक्रिय रहेको दाबी गर्दै डा. अग्रवालले आफू आन्दोलनबाट खारिएको उम्मेदवार भएको बताए। एमडी परीक्षाको तयारीकै बीचमा पनि एनएमएको आन्दोलनमा उभिएको उदाहरण दिँदै उनले टिम बद्रीलाई ‘टाइम टेस्टेड टिम’ को संज्ञा दिए।
युवा चिकित्सकहरूको उल्लेख्य समर्थन टिम बद्रीसँग रहेको दाबी गर्दै उनले भने, ‘रेजिडेन्ट लाई ह्यारेस गर्ने, तलब रोकिने वा पेशागत अधिकार कुण्ठित गर्ने जो कोही विरुद्ध हामी संघर्ष गर्न तयार छौं।’
एनएमए निर्वाचन परिवर्तनको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्दै डा. अग्रवालले यसपटक पनि नेतृत्व टिम बद्रीकै हातमा आउने दाबी गरे।