काठमाडौं- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हाललाई नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको देखिएपछि यस्तो आदेश दिएको हो।
न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलास (इजलास नं. १३) ले निषेधाज्ञा सम्बन्धी मुद्दामा सोमबार अन्तरिम आदेश सुनाएको हो। उक्त मुद्दामा डा अजय कुमार मिश्र समेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।
निवेदनमाथि सुनुवाइ गर्दै अदालतले नेपाल चिकित्सक संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको नियम ६ अनुसार पूरा भएको नदेखिएको ठहर गरेको छ। अन्तिम आदेश नआएसम्म हाललाई यथास्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने अदालतको निष्कर्ष छ।
सुनुवाइका क्रममा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य तथा अधिवक्ता गोकुल भण्डारी उपस्थित थिए भने विपक्षी नेपाल चिकित्सक संघका तर्फबाट वरिष्ठ अधिवक्ताहरू उपेन्द्र केशरी न्यौपाने, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी तथा अधिवक्ता बाबुराम अर्यालले बहस गरेका थिए।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी गरिएको अन्तरिम आदेश अनुसार विपक्षीलाई आदेशको सूचना दिई नियमानुसार पेश गर्न भनिएको छ।
यो आदेशसँगै नेपाल चिकित्सक संघको बहुप्रतीक्षित केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। अब अदालतको अन्तिम आदेशपछि मात्रै निर्वाचनको भविष्य टुंगो लाग्ने देखिन्छ। मुद्दा दायर गर्ने 'टिम रिफर्म'का महासचिव डा अमृत भुषालका अनुसार अर्को पेशी माघ ६ गतेका लागि तोकिएको छ। जबकी संघको निर्वाचन तालिका अनुसार उपत्यकाबाहिर माघ २ र ३ गते निर्वाचन मिति तोकिएको छ।