काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२औँ तह) पदमा बढुवाका लागि १४ जनाले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समितिको सचिवालयले खुला आह्वान गरेपछि सो पदका लागि १४ जना वरिष्ठ अधिकारीहरूले आवेदन दिएका हुन्।
मन्त्रालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक अधिकारीहरूलाई आवेदन दिन आह्वान गरेको थियो। निर्धारित अवधिभित्र १४ जनाको आवेदन परेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ।
यी हुन् आवेदन दिनेहरू
डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, प्रा. दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोदविन्दु शर्मा, नारायणप्रसाद ढकाल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव, डा. अभय पोख्रेल र डा. विष्णु प्रसाद शर्माले आवेदन दिएका छन्।
अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधि बाँकी छँदै गत कात्तिक १९ गते राजीनामा दिएपछि एक जना पद रिक्त भएको थियो। मन्त्रालयले सोही पदमा आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न प्रक्रिया अघि बढाएको हो।
हाल महाशाखाले आवेदनहरूको प्रारम्भिक रुजु प्रक्रिया अघि बढाइसकेको छ। आवेदन फारम, कासमु (कार्यसम्पादन मूल्यांकन) तथा अन्य आवश्यक कागजातहरूको परीक्षण गर्दै नम्बर गणना गर्ने काम भइरहेको प्रशासन महाशाखाका एक कर्मचारीले जानकारी दिए।