चुनावी अभियानका क्रममा टिम मंगल
काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन २०२६ को सन्दर्भमा टिम मंगलले उच्च अदालतको हालैको आदेशको स्वागत गर्दै अदालतको आदेशलाई बहाना बनाइ निर्वाचन प्रक्रिया अनिश्चित पार्ने कुनै पनि प्रयास नगर्न अपिल गरेको छ।
टिम मंगलद्वारा जारी अपिलमा, विभिन्न कारणले रीत नपुगेका तर निर्वाचनमा उम्मेदवार बन्न चाहेका चिकित्सकहरूलाई रीत पुर्याउने अवसर दिई सहभागी गराउन उच्च अदालतले दिएको आदेशलाई `लोकतन्त्रको स्पष्ट जित´ भन्दै स्वागत गरिएको छ। यस आदेशले लोकतान्त्रिक प्रक्रियामा सबैको सहभागिताको अधिकार हुनुपर्छ भन्ने टिमको निरन्तर अडानलाई स्थापित गरेको जनाइएको छ।
अपिलमा भनिएको छ, `स्वस्थ प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व चयन भए मात्र सम्पूर्ण चिकित्सकहरूको हक–हितमा निर्भीक रूपमा बोल्न सक्ने, पैरवी गर्न सक्ने र डटेर उभिन सक्ने नेपाल चिकित्सक संघ निर्माण सम्भव हुन्छ।´ आफैंले निर्माण गरेका कानुनको अपव्याख्या वा पालना नगर्ने प्रवृत्तिविरुद्ध आफूहरू निरन्तर संघर्षरत रहेको पनि टिम मंगलले उल्लेख गरेको छ।
यसअघि टिम मंगलका उम्मेदवार डा. अरुण शाहीको हकमा पनि अदालतको आदेशमार्फत उम्मेदवारीको अधिकार स्थापित भइसकेको स्मरण गराउँदै, निर्वाचन सुनिश्चित हुनु नै लोकतन्त्रको असली जित भएको धारणा अपिलमा व्यक्त गरिएको छ। अधिकार माग्ने नाममा निर्वाचन नै हुन नदिने अवस्था सिर्जना गर्नु लोकतान्त्रिक बाटो नभएको स्पष्ट सन्देश पनि दिइएको छ।
टिम मंगलले नेपाल चिकित्सक संघको वर्तमान कार्यसमिति तथा त्यसद्वारा गठन गरिएको निर्वाचन समितिमाथि गम्भीर प्रश्न उठाएको छ। निर्वाचन नियमावली २०७० को गलत व्याख्या र कार्यान्वयनमा देखिएको उदासीनताले संघलाई अनावश्यक संकटतर्फ धकेलेको आरोप लगाउँदै, यसले ‘हाम्रो एनएमए, सबैको एनएमए’ बनाउने आम चिकित्सकहरूको अपेक्षामा ठेस पुगेको जनाएको छ।
अपिलमा वर्तमान कार्यसमितिको एकपक्षीय रूपमा निर्वाचन अघि बढाउने प्रवृत्ति र निर्वाचन समितिको असक्षमता चिकित्सा जगतले नजिकबाट नियालिरहेको उल्लेख छ। आफ्नै कमजोरी ढाकछोप गर्न निर्वाचन प्रक्रिया अनिश्चित बनाउने कुनै पनि प्रयासप्रति टिम मंगलले गम्भीर खबरदारी गरेको छ।
अन्त्यमा, ‘एकता, भ्रातृत्व र सेवा’ भन्ने नेपाल चिकित्सक संघको मूल मर्मलाई आत्मसात् गर्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरिएको छ। निर्वाचन नियमावली २०७० अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी यथाशीघ्र निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचन गराउन वर्तमान कार्यसमिति जिम्मेवार ढंगले अघि बढ्ने अपेक्षा व्यक्त गरिएको छ।
`लोकतन्त्र, पारदर्शिता र सहभागितामै बलियो एनएमएको भविष्य निहित छ,´ अपिलमा जोड दिइएको छ।