काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले अनावश्यक रुपमा न्युट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न चिकित्सकहरुलाई निर्देशन दिएकी छिन्।
मन्त्रालयले आयोजना गरेको वित्तीय व्यवस्थापन सम्बन्धी गोष्ठीमा मन्त्री गौतमले चिकित्सकहरुले अनावश्यक रुपमा बिरामीहरुलाई न्युट्रास्युटिकल्स प्रेसक्राइब गरिरहेको बताएकी छिन्। चिकित्सकले अनावश्यक रुपमा न्युट्रास्युटिकल्स प्रेसक्राइब गर्दा स्वास्थ्य बीमामा सबै औषधि नपाइने गुनासो बिरामीले गर्ने गरेको बताएकी छिन्।
उनले भनिन्, ‘चिकित्सकहरुले चाहिने नचाहिने न्युट्रास्युटिकल्स प्रेसक्राइब गरिरहेका छन्। जुन औषधि स्वास्थ्य बीमामा पाईदैन। जसले गर्दा बिरामीहरुले महँगो औषधि बीमामा नराख्ने रहेछ गुनासो गर्छन्।’
उनी प्रश्न गर्छिन्, ‘न्युट्रास्युटिकल्स प्रेसक्राइब गर्ने कहाँ लेखेको छ ?’
सरकारले न्युट्रास्युटिकल्स प्रेसक्राइब नगर्न भनेपछि मेडिकल एशोसिएसनले यो आफ्नो अधिकार भएको बताउने गरेको जानकारी दिइन्। निजी अस्पतालमा धान्न सक्ने बिरामीलाई न्युट्रास्युटिकल्स प्रेसक्राइब गरेपनि सरकारी अस्पतालमा आउने बिरामीलाई प्रेसक्राइब नगर्न मन्त्री गौतमको आग्रह छ।
१० रुपैयाँको क्याल्सियले पुग्ने ठाउँमा ५ हजारको न्युट्रास्युटिकल्स के आवश्यक पर्यो भन्दै मन्त्री गौतमले प्रश्न समेत गरेकी छिन्। साथै आफ्ना चिकित्सकहरुलाई न्युट्रास्युटिकल्स प्रेसक्राइब नगर्न नगराउन कार्यालय प्रमुखहरुलाई समेत उनले निर्देशन दिएकी छिन्।
‘१० रुपैयाँको क्याल्सियमले पुग्छ भने ५ हजारको न्युट्रास्युटिकल्स आवश्यकता के पर्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्ता कुराहरुमा कार्यालय प्रमुखहरुले आफ्ना चिकित्सकहरुलाई निर्देशन दिनुहोला। मान्न आनाकानी गर्नुभयो भने मन्त्रालयमा जानकारी दिनुहोला। यो मेरो कडाईका साथ निर्देशन हो।’