काठमाडौं - गोरखाको धार्चे गाउँपालिका ३ उहियामा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल गोरखा, प्रदेश आयुर्वेद चिकित्सालय र धार्चे गाउँपालिकाको संयुक्त आयोजनामा भएको दुई दिने शिविरमा नसर्ने रोगको पहिचान, क्षयरोग, दन्त परीक्षण, मुटु सम्बन्धी लगायत विभिन्न रोगको सेवा प्रदान गरिएको हो। शिविर पुस १७ र १८ गते सञ्चालन भएको थियो।
शिविरमा नसर्ने रोग पहिचानका लागि ३६१ जनाको स्क्रिनिङ, ३४५ जनाको रक्त नमुना संकलन तथा परीक्षण, १३८ जनाको कुष्ठरोग स्क्रिनिङ, कुष्ठरोग पहिचानका लागि ५ जनाको नमुना संकलन गरिएको छ।

यस्तै ३७७ जनाको एक्स रे गर्दा ६ जनामा क्षयरोग देखिएको छ। एआई एक्स रे द्धारा क्षयरोगको शंकाका आधारमा ११ जनाको नमुना संकलन गरिएको छ।
२६१ जनाको दन्त परीक्षण, ६५ जनाको महिलाको पाठेघरको (भीआईए) परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको छ। शिविरमा ९५ जनाले मनापरोमर्श सेवा लिएका छन् भने ११६ जनाले योग ध्यान, जीवनशैली, आहारविहार सम्बन्धी परामर्श दिइएको छ।
१५ मुनिका २१३ जना बालबालिकाको मुटु रोगको स्क्रिनिङ गर्दा ३३ जनामा सामान्य समस्या र ३ जनामा मध्यम समस्या देखिएको छ।
यस्तै, ५ वर्ष मुनिका २२५ जना बालबालिकामा पोषणको लेखाजोखा गरिएको छ। २ जना बालबालिकाको आंशिक खोपखुट पहिचान भएको छ। शिविरमा पहिचान भएका बिरामीहरुलाई शिघ्र उपचारको दायरामा समेत ल्याइने आयोजकले जनाएको छ। 