काठमाडौं- नेपाल डेन्टल एसोसिएसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग ओएनएम सर्वेक्षणमार्फत दन्त सेवातर्फको दरबन्दी वृद्धि गर्न माग गरेको छ।
एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र सदस्य डा भुमेश काफ्लेले मन्त्रालयका सह–सचिवलाई बुझाएको निवेदनमा हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डेन्टल सर्जनको संख्या ६ हजारभन्दा बढी र एमडीएस उत्तीर्ण दन्त विशेषज्ञ १ हजारभन्दा बढी पुगेको उल्लेख गरिएको छ। यति ठूलो र दक्ष जनशक्ति उपलब्ध हुँदाहुँदै पनि सरकारी स्वास्थ्य सेवामा दन्त क्षेत्रको पर्याप्त दरबन्दी नहुँदा दन्त चिकित्सकहरू पेशागत समस्यामा परेको एशोसिएसनको भनाइ छ।
निवेदनमा मुख स्वास्थ्यलाई अत्यन्त संवेदनशील र आधारभूत स्वास्थ्य सेवाका रूपमा उल्लेख गर्दै आवश्यक दरबन्दी नखुल्दा आम नागरिक समयमै उपचारबाट वञ्चित हुनुपरेको र यसले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको जनाइएको छ।
विशेष गरी ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स, पब्लिक हेल्थ डेन्टिस्ट्रि र फरेन्सिक डेन्टिस्ट्री जस्ता दन्त विशेषज्ञता विषयहरूमा हालसम्म एक पनि सरकारी दरबन्दी सिर्जना नभएको अवस्थाप्रति एसोसिएसनले गम्भीर चिन्ता व्यक्त गरेको छ। यी विषयहरू स्वास्थ्य सेवा ऐन तथा लोकसेवा आयोगको संरचनामा समेत समावेश हुन नसक्नु दुःखद रहेको निवेदनमा उल्लेख छ।
हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ओएनएम सर्वेक्षणको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा, यसै प्रक्रियामार्फत हालसम्म छुटेका दन्त विशेषज्ञ विषयहरूको यथाशीघ्र दरबन्दी सिर्जना गर्न एसोसिएसनले माग गरेको छ। साथै आठौं तहका डेन्टल सर्जनहरूको दरबन्दी संख्या पनि यथासम्भव वृद्धि गरिदिन अनुरोध गरिएको छ।