काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत एच.ई स्मलिक श्मुलिक एरी बासबीच आशिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा भइरहेको तथा भविष्यमा हुन सक्ने द्विपक्षीय सहयोगका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदानका सम्भावनाबारे विचार–विमर्श गरेका थिए।
राजदूत बासले विशेष गरी विपद् व्यवस्थापन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन इजरायल सरकारका तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। इजरायलको विपद् व्यवस्थापन र आकस्मिक स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ थियो।
स्वास्थ्य मन्त्री डा. शर्मा गौतमले इजरायलले स्वास्थ्य प्रविधि, आपतकालीन सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगतिलाई प्रशंसा गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइन्।
भेटवार्तामा आपसी सहकार्यलाई थप विस्तार गर्दै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन साझेदारी विकास गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।