काठमाडौं- उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला गरेको छ।
उत्पादक र आयातकर्ता संघले गत भदौमा हालेको रिटको पक्षमा बुधबार अदालतले फैसला सुनाएको हो।
न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र शिवबहादुर रानाभाटको इजलासले संघका पक्षमा फैसला गरेको हो।
उत्पादक र आयातकर्ता संघले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ र यससँग जोडिएका कार्यसमिति र युनिटका विरुद्ध रिट हालेका थिए।
औषधि तथा बिक्री प्रतिनिधि संघले उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनु पर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाईघ एक्लै भेट्न नपाउने, बजारमा औषधिको डिस्ट्रिब्युटर्स भेट्न नपाउने, औषधि पसलमा जान नपाउने, बजारको कर्मचारी लाई सरुवा गर्न नपाउने लगायतका नियम लगाएको थियो।
उत्पादक र आयातकर्ता संघले उक्त विषय रोक्न माग गर्दै रिट हालेको थियो। उच्च अदालतको आदेशसँगै उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा कर्मचारीले निर्वाध रुपमा देशका जुनसुकै क्षेत्रमा गएर काम गर्न पाउने छन् भने औषधि तथा बिक्री प्रतिनिधि संघले उनीहरुलाई अवरोध गर्न पाउने छैनन्।