काठमाडौं -
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उज्वेकिस्तानमा एमबीबीएस अध्ययनका लागि प्रदान गरिने पूर्ण छात्रवृत्तिमा दुई जना नेपाली विद्यार्थी छनोट भएका छन्। कपिलवस्तुका सचिन कुमार प्रजापति र चितवनकी यमुना रेग्मी उक्त छात्रवृत्तिका लागि छनोट भएका हुन्।
छनोट हुने विद्यार्थीमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी सचिन कुमार प्रजापति र बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी भावना रेग्मी रहेकी छिन्।
कार्यक्रमअन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको कमन इन्ट्रान्स एक्जाम (सीईई) २०८२ मा उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा संयुक्त रूपमा आयोजित छात्रवृत्ति प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने दुई जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको हो।
छात्रवृत्तिअन्तर्गत एमबीबीएस अध्ययनका लागि आवश्यक शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा तथा बीमा शुल्कका साथै नेपालबाट उज्वेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्नपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने प्रावधान पनि राखिएको छ।
साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसियन इन्टरनेशनल युनिभर्सिटी, उज्वेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त पनि तय गरिएको छ।
यस सम्पूर्ण प्रक्रियालाई सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्नुहुने एनआरएनए आइसीसी सदस्य डा. किसान भण्डारीप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। उनको निरन्तर पहल, प्रतिबद्धता र नेतृत्वकै कारण यो महत्वपूर्ण अवसर सम्भव भएको संघले जनाएको छ। साथै एसियन इन्टरनेशनल युनिभर्सिटीका रेक्टर एस.एस. देखकानोयलगायत सम्पूर्ण विश्वविद्यालय परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।
गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनको अवसरमा एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटी (एआईयु) बीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययन गराउने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार आज योग्य नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा कार्यान्वयन गरिएको हो।