डडेल्धुरा-डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले आफूमाथि कार्यकक्षमै आक्रमण र दुर्व्यवहार भएको भन्दै कडा आपत्ति जनाएका छन्।
बुधबार दिउँसो कार्यकक्षमै पुगेको एक समूहले उनीमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटनापछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
अध्यक्ष ओझाले बुधबार दिउँसो भएको उक्त घटनाको निन्दा गरेका छन्।
विज्ञप्तिमा अध्यक्ष ओझाले उक्त घटनालाई 'घिनलाग्दो उद्धण्डता' को संज्ञा दिँदै यसले संस्थागत विकासमा अवरोध पुर्याउने र कर्मचारीको मनोबल गिराउने बताएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार पुस २३ गते बुधबार दिउँसो १:३५ बजेको समयमा अध्यक्षको कार्यकक्षमै पुगेर एक समूहले उनीमाथि दुर्व्यवहार गरेको थियो। 'विभिन्न आधारहिन आरोप लगाउँदै राजनीतिक आवरणमा संस्थालाई लथालिङ्ग पार्ने उद्देश्यले गरिएको यस्तो कार्यले संस्थागत विकासमा अवरोध पुर्याउँछ,' विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष ओझाले अस्पतालका विषयमा कुनै गुनासो वा गल्ती भए कानुनी उपचार खोज्ने ठाउँ हुँदाहुँदै कानून हातमा लिएर उद्धण्डता प्रदर्शन गरिएको बताए। उनले आफूसँग कुनै पनि आर्थिक अख्तियारी नहुने स्पष्ट पार्दै खरिद, निर्माण र कोष सञ्चालन सरकारी अधिकारीमार्फत हुने जानकारी समेत गराएका छन्।
अस्पतालको सेवा पुनः सुरु
उक्त घटनापछि कर्मचारीहरूले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए। तर आज (बिहीबार) दिउँसो २:०० बजेदेखि अस्पतालका सम्पूर्ण सेवाहरू पुनः नियमित सञ्चालनमा आएको ओझाले जानकारी दिए।
अध्यक्ष ओझाले अस्पतालमा कुनै गल्ती भएको भए कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै 'मिडिया ट्रायल' र भौतिक आक्रमणमा उत्रिनु निन्दनीय भएको बताएका छन्। 'यदि संस्थागत रूपमा भएका गल्तीहरू प्रमाणित भएमा म कारबाही भोग्न तयार छु, तर प्रमाणहीन र तथ्यहीन आरोप लगाएर कानून हातमा लिनु गलत हो,' विज्ञप्तिमा उनले लेखेका छन्।
हेरौं ओझाले सार्वजनिक गरेको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
मिति २०८२/०९/२३ गते बुधबार दिउँसो १:३५ बजेको समयमा डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षको हैसियतमा म माथि कार्यकक्ष भित्रै भएको आक्रमण र दुर्व्यवहार प्रति निन्दा र खेद प्रकट गर्दछु।
सुदूरपश्चिमको पहाडी जिल्लाको लागि स्वास्थ्य क्षेत्रमा गरिब जनताले आफ्नो उपचार गर्ने भरोसा राखेको अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा सेवाग्राहीहरूलाई सहज र प्रभावकारी उपचार पद्धतिको विकासमा रातदिन नभनी क्रियाशील रहँदै गर्दा विभिन्न आधारहिन आरोपहरू लगाउँदै राजनीतिक आवरणमा एउटा पवित्र संस्थालाई लथालिङ्ग पार्ने उद्देश्यले गरिएका जुनसुकै घटनाले संस्थागत विकासमा अवरोध आउने धारणा स्पष्ट गर्दछु।
अस्पतालमा संस्थागत रूपमा भई रहेका गल्तीहरू प्रमाणित भएमा कारबाही गर्ने थुप्रै कानुनी उपायहरू छन् र कारबाही भोग्न तयार छु। विभिन्न तहबाट अस्पतालका विषयमा उठान भएका मुद्दाहरूमा गोलबद्ध छलफल गर्नको लागि सबै पक्षहरूमा आह्वान गर्दछु, तर प्रमाणहीन र तथ्यहीन आरोपहरू लगाउँदै, मिडिया ट्रायलको पछि दगुर्दै कानूनलाई हातमा लिने गरि गरिएको घिनलाग्दो उद्धण्डताले संस्थामा कार्यरत कर्मचारीहरूलाई समेत हतोत्साहित गरेको छ। अस्पताल परिवार उक्त घटनाका दोषीमाथि यथाशीघ्र छानविन गरि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित सुरक्षा निकायहरू र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं।
आम नागरिक समाज, आमा बुवा, दाजु भाइ तथा दिदी बहिनीहरू अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन भई दोस्रो सफल कार्यकालको उत्तराद्र्धतिर मैले यस संस्थाको लागि गरेका प्रयासहरू छर्लङ्ग छन्, नेपाल सरकारले डडेल्धुरा अस्पताल विकास समिति गठन आदेश मार्फत विकास समिति अध्यक्षमा कुनै पनि किसिमको आर्थिक अख्तियारी नहुने विषय स्पष्ट उल्लेख गरेको कुरा आम सर्वसाधारणमा जानकारी गराउन चाहन्छु, आर्थिक लेनदेन तथा अन्य सबै किसिमको खरिद, निर्माण लगायत कारोवारको विषय र विकास समिति कोष सञ्चालनको विषय समेत नेपाल सरकारले तोकिएको अधिकारी मार्फत गर्दछ। अध्यक्षको हैसियतले गर्नुपर्ने कामहरू केवल संस्थागत विकासमा नीति निर्माण र सम्बन्धित पक्षसँग समन्वय गर्नु मात्रै हो, जसले गर्दा आम सर्वसाधारण बिरामी सेवाग्राहीले सहज र सर्वसुलभ रूपमा प्रभावकारी सेवा प्राप्त गरून्।
अन्तमा फेरि पनि डडेल्धुरा जिल्ला स्वास्थ्य क्षेत्रमा अव्वल राख्नुपर्ने विषयमा हाम्रो एकमत छ, कुनै पनि किसिमको आपराधिक क्रियाकलापबाट विकासको अवधारणा डगमगाउने छैन, हिजोको अस्पतालमा घटित घटनाले कर्मचारीको मनोबलमा परेको नकारात्मक असरले अवरुद्ध हुन गएको सेवा आज अपरान्ह २:०० बजेबाट नियमित हुने विषय सहित यो प्रेस विज्ञप्ति जारी गर्दछु।
करुणाकर ओझा, अध्यक्ष