दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूको प्रथम भेलाले कार्यबाहक उपकुलपतिको जिम्मेवारी तोक्न र नियमावली संशोधन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक समाजको माग गरेको छ।
कार्यकाल बाँकी छँदै प्रतिष्ठानका उपकुलपतिले अचानक राजीनामा दिएपछि संस्थाभित्र अन्योलता सिर्जना भएको प्राध्यापक समाजको ठहर छ। प्रतिष्ठानको छैटौँ सभाबाट गठन गरिएको तीन सदस्यीय पदाधिकारी मनोनयन मापदण्ड परिमार्जन समितिले राय पेश गर्ने प्रक्रियामा रहेको भए पनि, हालको विद्यमान मापदण्डले उपकुलपति छनोट प्रक्रियालाई अत्यन्त साँघुरो बनाएको समाजको भनाइ छ।
प्राडा कृष्ण कुमार राईको संयोजकत्वको समाजले भनेको छ, 'प्राध्यापक समाजका अनुसार वर्तमान मापदण्डअनुसार प्रतिष्ठानमै कार्यरत कुनै पनि प्राध्यापक वा सहप्राध्यापक उपकुलपति, रेक्टर, रजिस्ट्रार, डीन, निर्देशक वा सेवा आयोगजस्ता प्रमुख पदमा नियुक्त हुन सक्ने अवस्था छैन, जसले संस्थाभित्रकै जनशक्तिको अनुभव र क्षमता प्रयोग गर्न अवरोध सिर्जना गरेको छ।'
यस अवस्थाबाट तत्काल निकास दिन, प्राध्यापक समाजले दुई विकल्प अघि सारेको छ। हाल कार्यरत पदाधिकारीहरूमध्येबाट कार्यबाहक उपकुलपतिको जिम्मेवारी तोक्ने वा विशेष सिनेट बैठक बोलाई प्रतिष्ठानको नियमावली संशोधन गर्दै, प्रतिष्ठानमै कार्यरत योग्य प्राध्यापकहरूमध्येबाट उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरिएको छ।
सोमबार सम्पन्न भेलाले प्रा. डा. कृष्ण कुमार राईको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक समाज गठन गर्दै प्रतिष्ठानको समग्र शैक्षिक तथा संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
भेलामा सहभागी प्राध्यापकहरूले प्रतिष्ठान स्थापनापछि पछिल्ला दिनहरूमा विकासले तीव्र गति लिएको उल्लेख गर्दै, आफूहरू पनि वृत्ति विकासका सम्भावना देखेर उत्साहका साथ आ–आफ्नो पदीय जिम्मेवारीअनुसार कार्यरत रहेको बताएका छन्।
प्राध्यापक समाजका संयोजक प्राडा. कृष्ण कुमार राईले कुलपति, सहकुलपति तथा सबै सरोकारवालाहरूसँग संस्थाको स्थायित्व, निरन्तरता र विकासका लागि समयमै निर्णय लिन हार्दिक अनुरोध गरेका छन्।
