काठमाडौं- नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेको छ । बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै भुक्तानी नहुनु र दीर्घकालीन समस्या समाधानमा नेतृत्व असफल भएपछि मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ।
शिक्षण अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिनेछ । अस्पतालका अनुसार विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको हो।
अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ। हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ।
सूचनामा अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उल्लेख छ। विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा व्यहोर्न नसक्ने स्पष्ट पारेको छ।
स्वास्थ्य क्षेत्रमा सुधारको आशासहित सुरु गरिएको बीमा कार्यक्रम नेतृत्वको अकर्मण्यता र नीतिगत असफलताका कारण धरापमा परेको यसले देखाएको छ। बीमा बोर्डले समयमै समस्या समाधान गर्न नसक्दा सेवाग्राही, अस्पताल र समग्र स्वास्थ्य प्रणाली नै समस्यामा परेकाे छ।
शिक्षण अस्पताल जस्तो केन्द्रीय र रेफरल अस्पताल नै बीमा कार्यक्रमबाट बाहिरिनु स्वास्थ्य बीमा बोर्ड नेतृत्वमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ। अब यसले लाखौं बीमित नागरिकको उपचार पहुँचमा प्रत्यक्ष असर पार्ने निश्चित देखिएको छ।
बाेर्डकाे अध्यक्षमा चन्द्र थापा र कार्यकारी निर्देशक रघुराज काफ्ले छन्।
