काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को आगामी निर्वाचनलाई लिएर उत्पन्न विवाद समाधानका लागि निर्वाचन समितिले सोमबार सर्वपक्षीय छलफल गर्ने भएको छ।
निर्वाचन समितिले यसअघि केही उम्मेदवारका कागजात पूरा नभएको भन्दै उनीहरूको नाम समावेश नगरी अन्तिम नामावली सार्वजनिक गरेको थियो। समितिको उक्त निर्णयविरुद्ध तीनवटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले सबै उम्मेदवारको नाम निर्वाचन प्रक्रियामा समावेश गर्न आदेश दिएको छ।
अदालतको आदेशपछि निर्वाचन समितिले विवाद समाधान र निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा छलफललाई तीव्रता दिएको छ। सोही क्रममा आइतबार निर्वाचन समितिले सम्बन्धित सबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेको बुझिएको छ।
निर्वाचन समितिका अनुसार सोमबार हुने सर्वपक्षीय छलफलमा अदालतको आदेश कार्यान्वयन, संशोधित नामावली प्रकाशन तथा आगामी निर्वाचन तालिकाबारे सहमति जुटाउने प्रयास गरिनेछ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।