काठमाडौं- भारतीय प्रतिष्ठित म्यागजिन आउटलुकको ‘गेमचेन्जर अफ हेल्थकेयर’ विशेष सूचीमा नेपाली मूलका अर्थोपेडिक सर्जन डा. दीपक गौतमलाई समेत समावेश गरेको छ। हाल भारतको नवी मुम्बईस्थित एपोलो अस्पताल बेलापुरमा कन्सल्टेन्ट एमएस अर्थो तथा अर्थोपेडिक विभाग प्रमुखका रूपमा कार्यरत डा. गौतम आधुनिक जोर्नी प्रत्यारोपण प्रविधिमा योगदानका कारण सूचीमा समेटिएका हुन्।
डा. गौतम रोबोटिक–असिस्टेड घुँडा प्रत्यारोपण शल्यक्रियाका क्षेत्रमा अग्रणी मानिन्छन्। म्यागजिनका अनुसार रोबोटिक प्रविधिले शल्यक्रियामा उच्च स्तरको स्थिरता र शुद्धता ल्याएको छ, जसले विशेषगरी बहु स्वास्थ्य समस्या भएका बिरामीहरूलाई ठूलो फाइदा पुर्याएको छ। जोर्नीको सही एलाइनमेन्ट सुनिश्चित हुँदा जटिलता कम हुने र बिरामीको रिकभरी समय छिटो हुने कुरा डा गौतमले विश्वास राख्ने उल्लेख गरिएको छ। यद्यपि, प्रविधिसँगै सही बिरामी छनोट र शल्यक्रियापछिको सतर्क हेरचाह पनि उत्तिकै महत्वपूर्ण हुने कुरामा डा गौतमको जोड छ।

नेपालको मदन पुरस्कार गुठीबाट छात्रवृत्तिमा कलकत्ताबाट एमबीबीएस गरेका उनले दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)बाट एमएस अर्थो पूरा गरेका हुन्। जोर्नी प्रत्यारोपण, कम्प्युटर–असिस्टेड सर्जरी तथा मिनिमली इनभेसिभ प्रविधिमा विशेष तालिम लिएका उनले बिरामीको पीडा कम गर्ने र छिटो निको पार्ने उपचार पद्धतिलाई प्राथमिकता दिँदै आएका छन्।
डा. गौतम बिरामी–केन्द्रित उपचार पद्धतिका लागि परिचित छन्। उनी प्राथमिक तथा जटिल घुँडा र हिप प्रत्यारोपण, आंशिक घुँडा प्रत्यारोपण, नेभिगेसन तथा रोबोटिक–असिस्टेड सर्जरी, जटिल जोर्नी पुनर्निर्माण, गम्भीर ट्रमा तथा संक्रमण उपचारमा दक्ष छन्। साथै, डायरेक्ट एन्टेरियर एप्रोचमार्फत टोटल हिप आर्थ्रोप्लास्टीमा पनि उनको विशेष दख्खल छ।
डा. गौतम अनुसन्धान क्षेत्रमा पनि सक्रिय छन्। उनका थुप्रै अनुसन्धानपत्र प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित छन्। उनी इन्डियन अर्थोपेडिक एसोसिएसन, इन्डियन सोसाइटी अफ हिप एन्ड नी सर्जन्स तथा इन्टरनेशनल सोसाइटी अफ आर्थ्रोस्कोपी, नी सर्जरी एन्ड अर्थोपेडिक स्पोर्ट्स मेडिसिनका सदस्यसमेत हुन्।