काठमाडौं- जीवनपथको अवधारणामा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमले महोत्तरीको बर्दिबास नगरपालिकामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याएको देखिएको छ। तीन वर्षअघि सुरु गरिएको यस कार्यक्रमले गर्भावस्थाको चाँडो पहिचान, संस्थागत सुत्केरी दर वृद्धि, सुत्केरीपछिको घरमै स्याहार सेवा विस्तार र समुदायको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको तथ्यांक हालै काठमाडौंमा आयोजित एक सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
कार्यक्रम कार्यान्वयनका क्रममा फेब्रुअरी २०२२ देखि घरधुरी प्रोफाइलिङ सुरु गरिएको थियो भने जनवरी २०२३ बाट जीवनपथको अवधारणाअनुसार घरदैलो स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। कार्यक्रम सञ्चालनको तीन वर्षको अवधिमा बर्दिबास नगरपालिकाका १५ हजार ४५३ घरधुरीका ७४ हजार ४२० व्यक्ति सेवा प्रणालीमा दर्ता भएका छन्। तीमध्ये प्रजनन उमेर समूहका विवाहित महिलाको संख्या १४ हजार ५९४ रहेको छ, जसले कार्यक्रमको मातृ स्वास्थ्य केन्द्रित पहुँचलाई स्पष्ट रूपमा देखाउँछ।
गर्भावस्थाको चाँडो पहिचानमा उल्लेखनीय प्रगति
सामुदायिक स्वास्थ्य नर्समार्फत गर्भावस्थाको पहिलो १२ हप्ताभित्र गर्भवती महिलाको पहिचान गर्ने दरमा उल्लेखनीय सुधार आएको छ। कार्यक्रम सुरु भएको पहिलो वर्षमा १३.७ प्रतिशत मात्र रहेको यो दर दोस्रो वर्षमा २०.६ प्रतिशत पुगेको छ। यसले गर्भावस्थाकै प्रारम्भिक चरणमा जोखिम पहिचान, परामर्श तथा आवश्यक सेवामा पहुँच बढाउन मद्दत पुगेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
संस्थागत सुत्केरी दर उकालो
कार्यक्रम लागू भएपछि बर्दिबास नगरपालिकामा घरमै सुत्केरी गराउने अभ्यास उल्लेखनीय रूपमा घटेको छ। सुरुमा ७५ प्रतिशत रहेको संस्थागत सुत्केरी दर दोस्रो वर्षसम्म आइपुग्दा ९४ प्रतिशत पुगेको छ। स्वास्थ्य संस्थामै सुत्केरी गराउने प्रवृत्ति बढ्दा आमा र नवजात शिशुको ज्यान जोखिम घट्नुका साथै जटिलता व्यवस्थापन सहज भएको नगर स्वास्थ्य शाखाको विश्लेषण छ। यो दर अझै बढ्दो क्रममा रहेको बताइएको छ।
सुत्केरीपछिको घरमै स्याहार सेवा विस्तार
सामुदायिक स्वास्थ्य नर्समार्फत सुत्केरीपछि ३, ७ र १४ दिनभित्र घरमै स्याहार सेवा पाउने महिलाको संख्या पनि निरन्तर बढ्दो क्रममा छ। पहिलो वर्षमा १४ दिनभित्र सेवा पाउने सुत्केरी महिलाको दर ६६ प्रतिशत रहेकोमा तेस्रो वर्षसम्म आइपुग्दा यो करिब ७६ प्रतिशत पुगेको छ। यसले सुत्केरीपछिका संक्रमण, जटिलता र नवजात शिशुको स्वास्थ्य जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।
समुदायमा बढेको विश्वास र व्यवहार परिवर्तन
जीवन–चक्रमा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रमले समुदायको स्वास्थ्य व्यवहार र सोचमा समेत ठूलो परिवर्तन ल्याएको अध्ययनले देखाएको छ। कार्यक्रमको प्रारम्भिक चरणमा घरमा आउने नर्सहरूलाई जग्गा नाप्न, कर उठाउन वा सामान बिक्री गर्न आएको ठानी शंका गर्ने, घरभित्र पस्न नदिने वा असहयोग गर्ने प्रवृत्ति देखिए पनि नर्सहरूको निरन्तर सेवाभावले एक वर्षभित्रै त्यो शंका गहिरो विश्वासमा बदलिएको पाइएको छ।
कार्यक्रममा प्रयोग गरिएको ‘कम्युनिटी हेल्थ टुलकिट’ नामक प्राविधिक उपकरणले कागजी रजिस्टरलाई विस्थापित गर्दै जोखिममा रहेका बिरामीको पहिचान र नियमित फलो–अपलाई अनलाइन प्रणालीमार्फत सहज बनाएको छ। तेस्रो वर्षसम्म आइपुग्दा समुदायले नर्सहरूलाई नगरपालिकाका कर्मचारी मात्र नभई आफ्नै दिदी–बहिनीको रूपमा स्वीकार गर्न थालेका छन्। नर्सहरूले समुदाय र स्वास्थ्य संस्थाबीच बलियो पुलको भूमिका खेलेको विश्लेषकहरू बताउँछन्।
विशेषगरी गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको देखिएको छ। सीमान्तकृत बस्तीहरूमा समेत घरमै सुत्केरी गराउने चलन घटेर स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने अभ्यास बढेको छ। घरमै सल्लाह र सेवा पाउँदा विपन्न परिवारको समय र खर्च बचत भएको अनुभव पनि अध्ययनमा उल्लेख गरिएको छ।
चुनौती र दिगोपनाका अवसर
कार्यक्रमको सफलता उत्साहजनक भए पनि यसलाई दिगो र विस्तारयोग्य बनाउन केही व्यवहारिक चुनौतीहरू देखिएका छन्। कठिन भौगोलिक अवस्थाका कारण सामुदायिक नर्सहरूको सुरक्षा चुनौती, जागिरको स्थायित्व नहुनु, फोन सम्पर्क र यात्राखर्चका लागि दिइने रकम अपुग हुनु तथा प्राविधिक उपकरणमा आउने समस्याले काममा कठिनाइ सिर्जना गरेको सरोकारवालाहरूले बताएका छन्।
अध्ययनले कार्यक्रमको आवश्यकता, स्वीकार्यता र सम्भाव्यता उच्च रहेको निष्कर्ष निकालेको छ। ‘सफ्टवेयर’ अर्थात् समुदायको विश्वास र नर्सहरूको क्षमता तयार भइसकेको र अब ‘हार्डवेयर’ अर्थात् नीतिगत संरचना, आर्थिक स्रोत र प्रविधिको उचित व्यवस्थापन गर्न सकेमा यो मोडल देशभरि विस्तार गर्न सकिने अध्ययनको ठहर छ।
लागत विश्लेषणअनुसार यो कार्यक्रमको वार्षिक प्रतिव्यक्ति खर्च मात्र १०७ रुपैयाँ पर्ने, जुन नगरपालिकाको कुल वार्षिक बजेटको ०.७५ प्रतिशत मात्र हो। विश्वव्यापी अध्ययनहरूले सामुदायिक स्वास्थ्य कार्यक्रमले १० गुणासम्म प्रतिफल दिने देखाएको सन्दर्भ उल्लेख गर्दै जीवन–चक्रमा आधारित सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम नेपालको भौगोलिक, सामाजिक र आर्थिक सन्दर्भमा उच्च प्रतिफल दिने मोडल भएको अध्ययनले स्पष्ट पारेको छ।
यो अध्ययन ‘पोस्सिबल’ नामक अनुसन्धान केन्द्रित गैर–नाफामूलक संस्थाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र बर्दिबास नगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको हो।