काठमाडौं - नेपाल औषधि उत्पादक संघ (एपोन) ले छैठौँ एपोन कप फुटसल २०२६ प्रतियोगिता आयोजना गर्ने भएको छ। १० औँ फर्मा एक्स्पोको अवसरमा एपोनले माघ २ गतेदेखि फुटसल प्रतियोगिता सुरु गर्न लागेको हो।
एपोनका अध्यक्ष विप्लव अधिकारीले एपोन मार्केटिङ सर्कलले फुटसल प्रतियोगिताको आयोजना गरेको जानकारी दिँदै टर्फीको रिबेल पनि गरेका छन्।
प्रतियोगितामा १६ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गरिने मार्केटिङ टिमका संयोजक दिपेश प्रधानले जानकारी दिए।प्रतियोगितामा एशियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स, म्याग्नस फर्मा, नेशनल हेल्थकेयर, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन, एसआर ड्रग ल्याबोरेटरीज, फार्मोनिक्स लाइफ साइन्सेस, पानस फर्मास्युटिकल्सले सहभागिता जनाउँदैछ।
यस्तै, ओम्निका ल्याबोरेटरीज, देउराली–जनता फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, क्यूबीडी फर्मास्युटिकल्स, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर र टाइम फर्मास्युटिकल्स गरी १६ टिमको सहभागिता एपोनले जनाएको छ। सहभागी टिमहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ।