काठमाडौँ- बी.पी. स्मृति सामुदायिक सहकारी अस्पताल (बी.पी. स्मृति अस्पताल) र उज्बेकिस्तानको बुखारा स्थित एसिया इन्टरनेशनल युनिभर्सिटी (एआईयू) बीच चिकित्सा शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा एआईयूका तर्फबाट डिन डा. किशन भण्डारी र बी.पी. स्मृति अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा. डा. भोलाराम श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्र अनुसार दुवै संस्थाबीच चिकित्सा शिक्षा, क्लिनिकल प्रशिक्षण, अनुसन्धान, संकाय आदान–प्रदान, स्वास्थ्य सेवा क्षमता निर्माण तथा चिकित्सा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गरिनेछ।
सम्झौताअनुसार बी.पी. स्मृति अस्पतालमा एआईयूका चिकित्सा तथा स्वास्थ्य सेवा विद्यार्थीहरूका लागि क्लिनिकल प्लेसमेन्ट र प्रशिक्षणका अवसरहरू उपलब्ध गराइनेछ। साथै शैक्षिक व्याख्यान, क्लिनिकल मार्गदर्शन र संयुक्त परियोजनाका लागि संकाय आदान–प्रदानलाई पनि प्रोत्साहन गरिने उल्लेख छ।
यसैगरी संयुक्त अनुसन्धान पहल, वैज्ञानिक प्रकाशन, कार्यशाला, सेमिनार, सम्मेलन तथा निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको छ। जनस्वास्थ्य सुधारका लागि सामुदायिक पहुँच कार्यक्रमहरू पनि संयुक्त रूपमा विकास गरिनेछ।
सम्झौतापत्रमा चिकित्सा पर्यटनलाई विशेष महत्व दिइएको छ। एआईयूले उज्बेकिस्तान तथा मध्य एसियाली क्षेत्रहरूमा बी.पी. स्मृति अस्पताललाई उच्च गुणस्तरीय र किफायती चिकित्सा सेवाका लागि विश्वासिलो गन्तव्यका रूपमा सक्रिय रूपमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ।