ललितपुर- नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एशिया रिजनल कन्फरेन्स अन एनसीडी एण्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’ काठमाडौँमा सम्पन्न भएको छ।
उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य मन्त्री डा. शर्माले नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको बताइन्। उनले उपचारभन्दा रोकथाममा जोड दिँदै प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई अनिवार्य रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याइन्।
मानसिक स्वास्थ्यलाई ‘ओझेलमा परेको महामारी’ को संज्ञा दिँदै मन्त्री शर्माले सरकारले सुरु गरेको राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नसर्ने रोग र मानसिक स्वास्थ्यलाई “सुसुप्त महामारी” भन्दै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। उनले बढ्दो रोगको भारको तुलनामा लगानी र स्रोतसाधन न्यून रहेको उल्लेख गरिन्।
महानगरपालिकाले हालसम्म ३२ वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकेको र निःशुल्क प्राथमिक स्वास्थ्य सेवा विस्तार गरिरहेको जानकारी पनि उनले दिइन्।
साउथ इस्ट एशिया रिजनल (सेरो) एनसीडी एलायन्स र नेपाल एनसीडी एलायन्सको संयुक्त आयोजनामा ललितपुरस्थित होटल हिमालयमा सम्पन्न एकदिवसीय सम्मेलनको मुख्य उद्देश्य सन् २०२५ को संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठकपछि नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा गरिएका प्रतिबद्धताहरूको कार्यान्वयन अवस्थालाई सुदृढ गर्नु रहेको आयोजकले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले उद्घाटन गरेको सम्मेलनमा नेपालसहित बंगलादेश, भारत, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, मलेसिया र थाइल्याण्डका एनसीडी एलायन्सका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा सेरो एनसीडी एलायन्सका अध्यक्ष प्रा.डा. अभिनव वैद्यले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचा सुदृढ गर्ने विषयमा छलफल केन्द्रित भएको बताए। उनले क्षेत्रीय मुलुकबीच अनुभव आदान–प्रदान गरी प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य सम्मेलनको रहेको स्पष्ट पारे।
नेपाल एनसीडी एलायन्सका अध्यक्ष प्रा.डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको बढ्दो भार न्यूनीकरण गर्न राष्ट्रिय, क्षेत्रीय र विश्वस्तरमा समन्वय र सहकार्य आवश्यक रहेको बताए। सम्मेलनले नयाँ विचार र सहकार्यका अवसर सिर्जना गरेको उनको भनाइ थियो।
सम्मेलनमा नेपालको बहुपक्षीय उत्तरदायित्व ढाँचाबारे डा. मनिता प्याकुरेलले प्रस्तुति दिएकी थिइन्। छलफलमा राजनीतिक प्रतिबद्धतालाई मापनयोग्य लक्ष्यमा रूपान्तरण गर्ने, दीगो विकास लक्ष्य (एसडीजी) र विश्वव्यापी एनसीडी एजेन्डासँग समन्वय गर्ने तथा अनुगमन, पारदर्शिता र निरन्तर पैरवीमार्फत प्रतिबद्धतालाई व्यवहारमा उतार्न जोड दिइयो।
सम्मेलनमा एनसीडी एलायन्स जेनेभाकी लिन्डा सेन्क मार्कोभा, डब्लुएचओ नेपालका प्रतिनिधि डा. लोनिम दीक्षितलगायतले पनि नसर्ने रोग तथा मानसिक स्वास्थ्यमा उत्तरदायित्व र समन्वयको आवश्यकता औँल्याएका थिए।
सम्मेलनमा नेपालसहित १० देशका सरकारी अधिकारी, स्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, एनसीडी प्रभावित व्यक्ति, सिभिल सोसाइटी, गैरसरकारी संस्था तथा सञ्चारकर्मी गरी १०० भन्दा बढीको सहभागिता रहेको थियो।