इलाम- इलाम जिल्लामा क्षयरोगको समयमै पहिचान, उपचार तथा समुदायस्तरमा रोगको फैलावट नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको एआई आधारित डिजिटल एक्स–रे स्क्रिनिङ कार्यक्रमबाट २२ जना नयाँ क्षयरोगका बिरामी पहिचान भएका छन्।
उक्त कार्यक्रम इलाम जिल्लाका पाँच वटा पालिकाका ११ स्थानमा सफलतापूर्वक सञ्चालन गरिएको थियो। शिविर अवधिभर जम्मा १ हजार ७१० जनाको छातीको एक्स–रे परीक्षण गरिएकोमा २२२ जना सम्भावित क्षयरोगी पहिचान भएका थिए। सम्भावित क्षयरोगीहरूबाट खकार (Sputum) संकलन गरी GeneXpert लगायतका प्रविधिबाट परीक्षण गर्दा २२ जनामा क्षयरोग पुष्टि भएको हो। पुष्टि भएका सबै बिरामीहरूलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको मापदण्डअनुसार निःशुल्क उपचार सुरु गरिएको छ।
क्षयरोग अझै पनि नेपालका लागि प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेको अवस्थामा दुर्गम क्षेत्र, जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी सावित भएको आयोजक पक्षले जनाएको छ। एआई प्रविधिको प्रयोगबाट छातीको एक्स–रे विश्लेषण छिटो, भरपर्दो र वैज्ञानिक रूपमा सम्भव भएकाले क्षयरोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिएको बताइएको छ।
उक्त कार्यक्रम इलाम जिल्लाका पाँच वटा पालिका र बागमती सेवा समाज नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। स्थानीय तह, स्वास्थ्य कार्यालय र गैरसरकारी संस्थाबीचको सहकार्यले जिल्लामा क्षयरोग नियन्त्रण अभियानलाई थप सशक्त बनाएको सरोकारवालाहरूको भनाइ छ।
कार्यक्रमका क्रममा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले एआई आधारित डिजिटल एक्स–रे प्रविधिले क्षयरोग पहिचान प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाएको उल्लेख गर्नुभयो। उहाँले यस्ता नवीन प्रविधि प्रयोग गरी समुदायस्तरमा खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको बताउँदै प्रदेशस्तरबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।
त्यस्तै, स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जिल्लामा क्षयरोग नियन्त्रणका लागि गरिएको यो प्रयास उदाहरणीय रहेको बताउनुभयो। उनले स्थानीय सरकार, स्वास्थ्य संस्था र साझेदार संस्थाहरूबीचको समन्वयले मात्र क्षयरोगजस्तो रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने स्पष्ट पारे।
क्षयरोग कार्यक्रमका जिल्ला फोकल पर्सन गोपाल बरालले समयमै क्षयरोगको पहिचान र उपचार सुरु गर्न सके यस रोग पूर्ण रूपमा निको हुने बताउनुभयो। समुदायमा अझै रहेको भ्रम र डर हटाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ। एआई एक्स–रे शिविरले लुकेका क्षयरोगका केस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेको पनि उनले उल्लेख गरे।
कार्यक्रमबारे जानकारी दिँदै बागमती सेवा समाज इलामका जिल्ला कार्यक्रम संयोजक कमल कालाखेतीले पालिकाहरूको सक्रिय सहयोग, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको घरदैलो पहुँचका कारण जोखिम समूहसम्म सेवा पुर्याउन सम्भव भएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाबाट क्षयरोग उन्मूलनमा योगदान पुर्याइने उहाँले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण पालिकाका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा व्यक्तिहरू तथा सरोकारवाला निकायहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
साथै, आयोजक संस्थाले क्षयरोगका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन, समयमा उपचार सुरु गर्न र उपचार अवधि पूरा गर्न सबै नागरिकलाई आग्रह गरेको छ। यस्ता खोजपड्ताल कार्यक्रमले जिल्लामा क्षयरोगको बोझ घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।