तत्कालीन नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निणय गर्दै शिक्षा मन्त्रालयलाई जिम्मेवारी सुम्पेसँगै राष्ट्रिय योग दिवस मनाउन थालियो।
तत्कालीन शान्ति तथा पुर्ननिर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्री परिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
११ औँ राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाउन ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मुल सन्देशका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसको सयोजन गरी योगको सन्देश देशव्यापी रुपमा पुर्याउँदै आम नागरिकमा योग सचेतना अभियान दिनु यसको मुख्य उद्देश्य हुनुपर्छ।
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशा तर्फ अघि बढाउन सकिने संभाव्य आधारहरु धेरै देखिन्छन्। नेपालको सन्दर्भमा निम्न विषयसंग जोडेर योगलाई आम नागरिकसम्म पुर्याउन सके योगको महत्व अझ धेरै बढेर जाने थियो। जसले ‘स्वस्थ समाज, समृद्ध नेपाल र शान्तिका लागि योग’ भन्ने नारामा मात्रै सीमित नरहेर निम्न महत्वपूर्ण विषयहरुमा समेत नयाँ आयामहरु थप्न भूमिका खेल्ने थियो।
१. चिकित्सामा योग
२. शिक्षामा योग
३. पुर्नस्थापनामा योग
४. खेलकुदमा योग
५. पर्यटनमा योग
चिकित्सामा योग - अहिलेको समयमा मानव स्वास्थ्यमा देखिने मुख्य समस्या भनेको नसर्ने रोग (उच्च रक्तचाप, मुटुजन्य रोग, मधुमेह, स्वासप्रश्वासजन्य समस्या तथा क्यान्सर) हुन्। नसर्ने रोगहरु असन्तुलित खानपान, शारीरीक निष्कृयता, व्यायामको कमी र कुलत तथा तनावजन्य मुख्य कारणले हुने गरेको विभिन्न अध्ययनहरुले पुष्टी गरेका छन।
विधिपूर्वक नियमित गरिने योग अभ्यासले सन्तुलित जीवन बिताउने कलाहरु सिकाउँदै यी रोगलाई न्यूनीकरण र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्दछ। नियमित गरिने योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। योगका विभिन्न अभ्यासहरु जस्तै, आशन, सटकर्म क्रिया, सात्विक आहार विधि, मुद्रा, प्राणयाम, ध्यान, र प्राकृतिक जीवनशैली सहित दिनचर्याले मानव अस्तित्वका सबै कोषहरु सन्तुलित हुन्छन। जसले गर्दा काम, क्रोध, लोभ, मोह, भय जस्ता असंयमित भावहरुबाट मुक्त भएर आनन्दमा आधारित जीवनशैलीको विकास गर्न सकिन्छ।
शिक्षामा योग - पुराना ग्रन्थ, विभिन्न ऋषिमुनिहरुका दर्शन, सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास जस्ता विषयहरुको अध्ययन गर्दा योगले सिद्धान्तनिष्ठ, नैतिकता र सरल जीवन बिताउने जीवनशैलीले मार्गदर्शन गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्। योग ध्यान र प्रणायामको नियमित अभ्यासले सम्पूर्ण स्नायु प्रणालीमा सकरात्मक उर्जा प्रवाह गर्दछ। हर्मोनहरुलाई क्रियाशिल बनाउँछ। मनको चञ्चलता हटाउँदै शिक्षक र विद्यार्थीहरुमा स्मृतिशक्ति वा सम्झने ज्ञानलाई बढाउँछ। बालबच्चाहरुमा उत्पन्न हुने मनोत्रासजन्य कारणबाट उत्पन्न हुने मानसिक तनावलाई पनि नियमित गर्ने योग अभ्यासले न्यूनीकरण गर्न सकिने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन्। त्यसैले विद्यालय योग शिक्षामा सैद्धान्तिक ज्ञान सगै प्रयोगात्मक अभ्यासले शिक्षामा समेत नया उर्जा थप्न सकिन्छ।
पुर्नस्थापनामा योग - विभिन्न किसिमका रोग, चोटपटक, दुर्घटना तथा मानसिक असन्तुलन जस्ता कारणहरुबाट उत्पन्न भएका समस्याहरुलाई सामान्य अवस्थामा फर्काउनु वा त्यसो हुन नसकेमा पनि ती दुख पीडाहरुमा सहजता थप्नु नै पुर्नस्थापना हो। योग पुर्नस्थापनामा विशेष गरी हृदयघात मस्तिष्कघात, ठूला चोटपटक तथा दुर्घटनापछि हुने शारीरिक तथा मानसिक विचलन, क्यान्सर तथा कुलतमा रहेका बिरामीहरुमा प्रभावकारी छ। वैज्ञानिक अध्ययनहरुका अनुसार सामान्य पुर्नस्थापनाभन्दा योगिक पुर्नस्थापनाले त्यस्ता किसिमका बिरामीहरुमा उच्च मनोवलका साथै आत्मबल बढाएको पाईन्छ।
खेलकुदमा योग - योगले खेल जगतमा नयाँ उर्जा थप्न महत्वपूर्ण भुमिका खेल्दछ। नियमित योग अभ्यासले खेलाडीहरुलाई शारीरिक सुगठन, मानसिक एकाग्रता, दबाव थकान, तथा समयको सन्तुलन कायम गर्दै अनुशासित र नैतिकवान बनाउँछ। योगले खेलाडीहरुमा अनुकुलता–प्रतिकुलता, जित–हारमा समेत संयमित बनाउँदै सामाजिक सद्भाव कायम राख्ने मनोबलको विकास गराउँछ। योग आफैंमा व्यायाम तथा खेलकुदसँग जोडिएको विषय पनि हो। विभिन्न आसन, सूर्य नमस्कार, प्रज्ञायोग आदिलाई जोडेर समेत खेल आयोजना गर्न सकिन्छ। त्यसैले खेलकुदमा योग कार्यक्रमले पनि हाम्रो जस्तो देशमा एउटा फरक किसिमको विशेषता स्थापित गर्न सक्दछ।
पर्यटनमा योग - प्राकृतिक सम्पदा र जैविक विविधताले भरीपूर्ण रहेको नेपाल भूमि योगको उद्गम स्थल हो। नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम बुद्धले योग र ध्यानको साधनाद्धारा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ। त्यसैले पनि हाम्रो भूमि योग पर्यटनका प्रसस्त संभावना रहेको ठाउँ हो। पर्वतीय क्षेत्रमा पर्यटकहरुलाई अक्सिजनको कमीका कारण उत्पन्न हुने विभिन्न किसिमका नकरात्मक असरहरु न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै महत्वपूर्ण छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँहरु नेपालमा प्रशस्त छन्।
हिमाल, पहाड र तराइको त्रिपक्षीय सन्तुलन कायम रहेको सानो क्षेत्रफल भएको हाम्रो देशमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै आधारहरु छन्। जहाँ योगका विभिन्न विधिहरु सहितका ध्यान केन्द्र र साधना स्थलहरु निर्माण गर्न सकिन्छ। जसबाट नेपाललाई छुट्टै पहिचान भएको देशका रुपमा विकास गर्दै आर्थिक समुन्नतमा समेत टेवा मिल्ने छ। नवौँ राष्ट्रिय योग दिवसले तीन तहको हाम्रो सरकारलाई नीगित र व्यावहारिक रुपमा आम नागरिक सम्म योगलाइ जोडन यसरी अभिप्रेरित गरोस् सम्पूर्णमा शुभकामना।